लुम्बिनीमा भ्रमण वर्षको तामझाम: पर्यटकको बसाइ भने डेढ दिन मात्र

Sharing is caring!

जेठ ८, २०७६ । यस वर्ष २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित प्रदेश–५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ घोषणा गरेको छ । त्यसका लागि रू. १ करोड ९१ लाख ७० हजार बजेट पनि छुट्याइएको छ । तर, विज्ञहरू भन्छन्– लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउने कार्ययोजना नआएसम्म भ्रमण वर्षले सार्थकता पाउँदैन ।

‘लुम्बिनीको पुरातात्त्विक महत्त्व’ विषयमा विद्यावारिधि गरेका प्रा.डा. गीतु गिरीका अनुसार लुम्बिनी आउने पर्यटकको औसत बसाइ १ दशमलव ८ दिन मात्र छ । जबकि, नेपाल आउने पर्यटकको औसत बसाइ १५ दिन हुने गर्छ । भ्रमण वर्ष घोषणा गरिसकेको प्रदेश सरकारसँग लुम्बिनी आउने पर्यटकलाई केही दिन त्यस क्षेत्रमा टिकाउने योजना भने छैन ।

लुम्बिनी विकास कोषको ३ वर्षको तथ्यांक अनुुसार त्यस क्षेत्रमा सरदर वार्षिक १५ लाख पर्यटक आउने गर्छन् । त्यसमा साढे १२ लाख नेपाली, डेढ लाखभन्दा बढी भारतीय र अन्य मुलुकका नागरिक करीब डेढ लाख हुने गर्छन् । ‘यस हिसाबले २० लाख पर्यटक पु¥याउन गाह्रो नहोला,’ डा. गिरी भन्छन्, ‘तर, उनीहरूको बसाइ अवधि नलम्ब्याउने हो भने संख्या गनेर केही फाइदा छैन ।’

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल भने पर्यटनलाई आर्थिक समृद्धि र दिगो विकाससँग जोड्ने नीति अनुरूप भ्रमण वर्ष घोषणा गरिएको बताउँछन् । ‘लुम्बिनी विश्वभरिका डेढ अर्ब बौद्धमार्गीको तीर्थ हो । ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक हिसाबले पनि यो स्थान उत्तिकै महत्त्वपूर्ण छ,’ उनी भन्छन्, ‘जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका बुद्धमार्गीलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भन्ने निष्कर्षका साथ प्रदेश सरकारले भ्रमण वर्ष घोषणा गरेको हो ।’ यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुर्‍याउने उनको धारणा छ ।

बृहत्तर लुम्बिनीका रूपमा विकास गर्दा कपिलवस्तु र नवलपरासी समेतलाई बौद्धमार्गीहरूको गन्तव्य बनाउन सकिने प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीको धारणा छ । प्रदेश सरकारले त्यही दिशामा काम गरिरहेको उनी बताउँछन् । निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन तथा अन्य पूर्वाधारको विकासले भ्रमण वर्ष सफल हुने मन्त्री गिरीको विश्वास देखिन्छ ।

यद्यपि, मन्त्री गिरीले भनेजस्तो बृहत् लुम्बिनीको अवधारणाले मूर्तरूप पाउन सकेको छैन । गौतम बुद्ध विमानस्थलको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि पूर्ण सञ्चालनमा आउन अझै समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन् । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *