मेलम्चीको बाँकी काम पुरानै कम्पनीलाई दिने तयारी

Sharing is caring!

पुस १०, २०७५ । निर्धारित समयमा काम नसके प्रतिदिन ७० लाख रुपैयाँ क्षतिपूर्ति असुल्ने सर्तमा पुरानै ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना) लाई नै सुरुङ निर्माणको बाँकी काम दिने मनस्थितिमा मेलम्ची खानेपानी आयोजना पुगेको छ ।  सिएमसीले काममा फर्कने व्यहोरासहितको पत्र सोमबार पठाएपछि बाँकी काम पुरानै कम्पनीलाई दिने मनस्थितिमा आयोजना पुगेको हो । यसका लागि ठेकेदार कम्पनीले सुरुङ निर्माणको सम्पूर्ण काम १० फेब्रुअरी (२७ माघ) भित्रै सक्नुपर्नेछ । उक्त अवधिमा काम नसके ठेकेदार कम्पनीले प्रतिदिन ७० लाख रुपैयाँका दरले आयोजनालाई क्षतिपूर्तिबापतको रकम तिर्नुपर्ने हुन्छ ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले सिएमसी काममा फर्कन सर्त मान्नुपर्ने बताए । उनले नयाँ पत्रिकासँग भने, ‘ठेकेदार कम्पनीबाट सुरुङ निर्माणको बाँकी काम सक्न तयार रहेको पत्र प्राप्त भएको छ । उसले केही साताअघि आयोजनालाई ‘टर्मिनेटर’ पत्र पठाएको थियो । तर, आज उक्त ‘टर्मिनेटर’ पत्र फिर्ता गरिएको भन्दै नयाँ पत्र प्राप्त भयो । यसो भन्दैमा विनासर्त उसलाई काम दिने कुरा आउँदैन । यसका लागि अब १० फेब्रअरीभित्रै काम सक्न उसलाई भन्छौँ । उक्त अवधिभित्र काम नसके क्षतिपूर्ति तिर्न भन्छौँ । यी सर्त मान्न तयार भए मात्रै हामी उसलाई काम दिन्छौँ । नत्र विकल्प खोज्छौँ ।’

१५ दिनदेखि काम स्थगित
आयोजना र ठेकेदार कम्पनीको विवादका कारण १५ दिनदेखि मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्य स्थगित छ । काम छाडेर इटाली भाग्न लागेको आशंकामा आयोजनाले साता दिनअघि ठेकेदार कम्पनीका प्राविधिकको पासपोर्ट नियन्त्रणमा लिएको थियो । कम्पनीका २९ मध्ये कसैलाई पनि मुलुक छाड्न नदिन अध्यागमन विभागलाई आयोजनाले पत्राचारसमेत गरेको छ ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *