संसद्मा पनि अरिंगालकै चर्चा
असोज २, २०७५ । प्रधानमन्त्री केपी ओलीले ‘अरिंगाल’ ले जस्तै सरकारको बचाउ गर्न नेता–कार्यकर्तालाई दिएको निर्देशनलाई लिएर सोमबारको संसद बैठक प्रभावित बन्यो । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले विपक्षीको आवाज थुन्न त्यस्तो अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
कांग्रेस सांसद मीना पाण्डेले प्रधानमन्त्रीको अभिव्यक्ति कतातिर लक्षित हो भन्ने प्रश्न गर्दै भनिन्, ‘अरिंगालजस्तै प्रतिवाद गर्नुपर्छ भनेर कतातिर लक्षित गरिएको हो, संसदलाई स्पष्ट जवाफ दिनुपर्छ ।’ कांग्रेसकै मीनाक्षी झाले प्रतिपक्षीको आवाज थुन्नकै लागि प्रधानमन्त्रीले अरिंगालले जस्तै आक्रमण गर्न दिएको निर्देशन खेदजनक रहेको बताइन् । ‘प्रधानमन्त्रीको यस्तो बोली संगठित अपराधीको जस्तो भयो । देशको प्रधानमन्त्रीले संयमित भएर बोल्नुपर्छ,’ उनले भनिन् ।
कांग्रेस सांसद राजनकुमार केसीले प्रधानमन्त्रीको अभिव्यक्तिले आमजनतामा भय उत्पन्न गराएको बताए । ‘अरिंगालजस्तै आक्रमण गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले आमजनता त्रसित र आतंकित छन्,’ उनले भने, ‘कार्यकारी प्रमुखले यस्तो कुरा बोल्न हुन्छ कि हुन्न ?’