संसदीय समिति सभापतिको निर्वाचन शुक्रबार

Sharing is caring!

असोज २, २०७५ ।  प्रतिनिधिसभाको १० विषयगत समिति सभापतिको निर्वाचन शुक्रबार हुने भएको छ । यसअघि ५ र १७ भदौमा गर्ने गरी घोषित निर्वाचन मिति सरेपछि सभामुख कृष्णबहादुर महराले आगामी शुक्रबारलाई तय गरेका हुन् ।

संसद् सचिवालयले प्रतिनिधिसभाका १० वटा विषयगत समिति सभापतिका लागि बिहीबार उम्मेदवारी दिने समय तोकेको छ । राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउने भए पनि क्षेत्राधिकारको हिसाबमा प्रत्येक समितिले सरकारलाई नै निर्देशन दिन सक्ने र सरकारको कामको अनुगमन तथा मूल्यांकन गर्न सक्नेछन् ।

प्रत्येक समितिमा सत्तारुढ नेकपाकै स्पष्ट बहुमत रहे पनि अन्य दललाई समेत केही समितिमा सभापतिको जिम्मेवारी दिने तयारी नेकपाले गरेको छ । सत्तारुढ संघीय समाजवादी फोरमलाई एउटा समितिको नेतृत्व दिने सहमति भएको फोरमका सांसद विमलप्रसाद श्रीवास्तवले बताए । श्रीवास्तवकै नाम सार्वजनिक लेखा समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा प्रतिनिधिसभाको बुधबारको बैठकले सारेको छ । ‘पार्टीले आधिकारिक निर्णय गरिसकेपछि भनौँला । अहिले नै म सभापति बन्छु भन्न मिल्दैन, ४ असोजमा मनोनयन छ,’ उनले भने ।

कांग्रेसलाई सार्वजनिक लेखा समितिको नेतृत्व दिने र त्यसमा कांग्रेसले सांसद भरत शाहलाई सभापति बनाउने तयारी गरेको छ । लेखा समितिबाहेक अन्यमा कांग्रेसबाट नेतृत्व गरेर जानेबारे सहमति भइनसकेको कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले बताइन् ।

नेकपाकै महेश बस्नेतलाई अर्थ समितिबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सारिएको छ । स्रोतका अनुसार बस्नेतलाई कृषि समितिको सभापति बनाउन नेकपाले एक समितिबाट उनको नाम अर्को समितिमा पारेको हो । सोमबारको प्रतिनिधिसभा बैठकले पवित्रा निरौला खरेललाई महिला तथा सामाजिक समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा र निरुदेवी पाललाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट महिला तथा सामाजिक समितिमा सारिएको छ । सांसद पाललाई महिला तथा सामाजिक समितिको सभापति बनाउन सक्ने सम्भावना रहेको नेकपा स्रोतले बतायो । पाल ‘प्रधानमन्त्री ओलीकी विश्वासपात्र हुन् । ओलीले चाहे भने निरुदेवी पाल समिति सभापति हुन सक्छिन्,’ स्रोतले भन्यो ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *