मुख्यमन्त्री योगीको भव्य स्वागत गर्छौं, सम्मानमा कुनै कसर बाँकी राख्दैनौं: यादव

Sharing is caring!

मंसिर २२, २०७५ ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरुले भव्य स्वागत गर्ने र उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले भने, “भारतका उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउँदै हुनुहुन्छ, नेपाल र भारत दुई वटा स्वतन्त्र देश हुन् । भारत हाम्रो सबैभन्दा नजिकको मित्र राष्ट्र पनि हो । यो दुई वटा देश बनेपछि हाम्रा सम्बन्ध निर्माण भएको होईन । यो सम्बन्ध आधुनिक राज्य अस्तिवमा आउनुभन्दापनि पहिलेदेखिनै भएको हो ।”

उनले ईतिहास, सभ्यता र संस्कृतिलाई बचाउनको लागि पनि विवाहपञ्चमीमा अयोध्याबाट जन्ती लिएर आउने कार्यक्रम अनिवार्य आवश्यकत्ता रहेको स्पष्ट पारे । उनले भने, “सम्पूर्ण जनताले नै उत्साहका सथा स्वागत गर्नुपर्छ । हामी मुख्यमन्त्रीजीलाई भव्य स्वागत गर्छौं । उहाँको सम्मानमा कुनै कसर बाँकी राख्दैनौं ।”
आजको परिवेशमा सम्बन्धका आफ्नै रुप हुने उल्लेख गर्दै यादवले नेपाल र भारतबीच जनता–जनताबीचको सम्बन्ध मजबुद रहेको सुनाए । उनले भने,“नेपाल र भारतबीचको सम्बनध पूरानो, महत्वपूर्ण र ऐतिहाँसिक छ । हामी आँतुरका साथ स्वागत गर्न तयारी छौं । मुख्यमन्त्री योगीको भ्रमणले द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउँछ ।”

पछिल्लो समय राजनीतिक उपलब्धिका नाममा विभिन्न प्रकारको चलखेल भएको यादवको गुनासो छ। अरुबाट परिचालित केही व्यक्तिहरुले नाईटोदेखि बल लगाएर मुख्यमन्त्री योगीको भ्रमणबारे विरोध गर्न लागिपरेको पनि उनले गम्भिर आरोप लगाए ।
जानकी, राजा जनक र मिथिला भनेको ऐतिहाँसिक धरोहरको रुप भएको सुनाउँदै यादवले भने,“जुन धरोहरले हाम्रो सम्बन्ध जोडेको छ । यसको बारेमा विरोध गर्ने कुरा गलत हो ।”

मुख्यमन्त्री योगीको भ्रमणले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउँने उनको विश्वास छ । उनले भने,“उहाँको जनकपुर भ्रमणले नेपालको हित लुकेको छ । उत्तर प्रदेशमा त्यत्रो ठूलो जनसंख्या छ । अब जनकपुरमा धार्मिक पर्यटकहरु आउनेछन् । हामी उहाँलाई स्वागत गर्न तयार छौं । बलबुताले भ्याउनेजति सबै प्रकारको स्वागत गर्छौं ।”

फरक प्रसँगमा उनले आफूहरुले जुन विश्वासका साथ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको हो अहिले त्यसमा सरकार खरो उत्रिन नसकेको आरोप लगाए ।

उनले सुनाए,“हामीले संविधान संशोधनको लागि दुई तिहाई गणित चाहिन्छ र त्यो गणित नेकपाको साथलेमात्रै पूरा हुन्छ भनेर नेकपालाई सरकार गठनमा समर्थन गरेका थियौं । संविधान संशोधनको लागि संसदमा दुई तिहाई पुर्याउनको लागि नै हामीले समर्थन गरेका हौं । यसमा वर्तमान प्रधानमन्त्रीले पनि हामीसँग आपसी समझदारी कायम गर्नुभएको थियो । त्यही कारण सरकारलाई समर्थन गर्यौं ।”

सरकार गठन भएसँगै जनताले विकास र समृद्धि हुन्छ भन्ने ठूलो अपेक्षा गरेपनि अहिले त्यो आशा निराशामा बदलिएको उनको गुनासो छ । उनले भने,“हामीले जुन विश्वासका साथ यो सरकारलाई समर्थन गरेका थियौं, अहिले ती विश्वास स्खलित र पतन हुँदै गैरहेका छन् ।”

यद्धपी उनले आफूहरुले बारम्बार सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेको पनि सुनाए । राजपाको अब बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा के गर्ने भन्नेबारे निर्णायक निर्णय लिने पनि उनले जानकारी दिए । तर, एकपटक सरकारले गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग बसेर छलफल गर्ने र आफूहरुले एउटा निश्कर्ष निकाल्ने यादवले विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *