आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

Sharing is caring!

भदौ २९, २०७५ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ । रजस्वलाका समयमा भएका त्रुटि आज अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो।

रज भनेको फोहोर हो, जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुसन्धान गर्नुपर्ने भनाइ उनको छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *