अराजकताको बाटोमा कोशीका पहिचानवादी

Sharing is caring!

मंसिर २७, २०८० । प्रमुख तीन ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको मतमा प्रदेश १ को नाम दुई तिहाइको मतबाट कोशी प्रदेश नामकरण गरेपछि कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने भन्दै शुरू भएको आन्दोलन अझै मत्थर बनेको छैन।

आफूहरूको उपस्थिति बलियो भएका पहाडी जिल्लाहरूमा पहिचानवादीले कोशी सरकारका मुख्यमन्त्री मन्त्री र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लक्षित बनाउने गरेका छन्। यसै क्रममा नेकपा एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किराँतीसमेत रहेका छन्। किराँतीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ। पहिचानवादीले केही दिनअगाडि ओखलढुंगामा आयोजना गरेको सार्वजनिक सभामा बोल्दै नेता किराँतीले जबर्जस्ती गरे आफूहरूको लाशमाथि टेकेर हिँड्नुपर्ने चेतावनी दिनुभएको थियो।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो। भोजपुरबाट पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई, पवन राई, विदुर राई रहेका छन्। त्यस्तै हलेशीबाट पूर्वमन्त्री किराँतीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा खोटाङबाट उदिम राई पक्राउ परेका छन्।

नेकपा एमालेको महाकाली मेची झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली मंगलबार कोशी प्रदेश प्रवेश गरेको छ। कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा भएको छ।

हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीको आन्दोलनालाई लक्षित गर्दै जनताका बीचमा फाटो ल्याउने नभई जनताका बीचमा राष्ट्रिय एकता बनाउनुपर्नेमा जोड दिनुभयो।

‘राजनीतिक विचारमा मतभेद हुन सक्छ’, उहाँले भन्नुभयो– ती मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया छन्। कानुनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश–उत्तेजनामा होइन। सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्छ। त्यस औचित्यको आधारमा समस्या समाधान गर्नुपर्छ । एमालेको त्यो नीति छ।’

एमालेको टोली मंगलबार उदयपुरको घुर्मी हुँदै दिक्तेल वास बस्ने कार्यक्रम रहेको छ। एमाले कार्यक्रम बिथोल्न सक्ने भन्दै कोशीका मध्यपहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ। एमालेको अभियान कोशी प्रदेश प्रवेश गर्दैगर्दा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको थियो।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले प्रदेश बन्द, सडक बन्दलगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो ।

कोशी प्रदेश नामकरणमा एमालेसहित नेपाली कांग्रेस नेकपा ९माओवादी केन्द्र० पनि सहभागी भएकाले नेकपा एमालेलाई मात्रै निशाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जिकिर गर्नुभयो । यसअघि घुर्मीबाट यस प्रदेशमा शुरू हुने संकल्प यात्रामा अवरोधका लागि पहिचानवादीले ‘घुर्मी–चिवाभञ्ज्याङ्ग जनजागरण अभियान’ थालेका थिए।

सो कार्यक्रममा कोशीका विभिन्न जिल्लाबाट पहिचानवादी अगुवा र कार्यकर्ता भेला भएका थियए। अभियानको उद्घाटन गर्दै घुर्मी–ओखलढुङ्गा–सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ। एमालेकै अभियानलाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आह्वानसमेत गरेका छन्।

पहिचानसहितको प्रदेश पुनः नामकरण अभियान समितिका अध्यक्ष डाकेन्द्रसिंह थेगिमले आफूहरूको जनजागरण अभियान एमाले लक्षित नै भएको बताउनुभएको थियो। उहाँले पार्टीलाई भन्दा पनि व्यक्तिलाई लक्षित गरी अभियान शुरू गरेको बताउनुभएको थियो।

एकीकृत सुरक्षा योजना लागू

एमालेको अभियान लक्षित पहिचानवादीको आन्दोलनले सुरक्षा चुनौती बढ्ने देखेपछि प्रहरी प्रशासनले सम्भावित झडपलाई रोक्न भन्दै एकीकृत सुरक्षा योजना लागू गरेको छ।

दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशंका बढेको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले आफूहरूले जुनसुकै शान्तिपूर्ण कार्यक्रमलाई पूर्ण सुरक्षा दिने बताउनुभएको छ। प्रहरीले व्यापक रूपमा पहाडतिर फोर्स पठाएको छ।
मुख्यमन्त्रीलाई कालोझण्डा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीले कालो झण्डा देखाएका छन्। झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले मंगलबार मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाएका हुन्।

उहाँको गाडीमा ढुंगासमेत हानिएको छ। मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास भए पनि प्रहरीले अवरोध खुलाएको थियो। यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *