सामुदायिक शैक्षिक सुधार गर्न काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

Sharing is caring!

मंसिर २६, २०८० । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच नीतिगत सम्झौता भएको छ ।

गत सोमबार भएको प्रमुखस्तरीय निर्णयअनुसार सम्झौता भएको हो । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको रोहवरमा भएको सम्झौतामा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालयको स्कूल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले हस्ताक्षर गरेका हुन् ।

महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरवको योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो । योजनामा टिचर कलेज कार्यक्रम समावेश छ । यो कार्यक्रममा शिक्षकहरुको क्षमता विकास तालिम उपलब्ध गराइने छ । शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा योगदान गर्न चाहने व्यक्तिहरु सहभागी हुन सक्ने महानगरपालिकाले जनाएको छ । यसरी सञ्चालन हुने तालिममा दिइने प्रमाणपत्रलाई वृत्ति विकासका लागि योग्यता मानिनेछ ।

सम्झौताबमोजिम शिक्षामा सीप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तिकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सीप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ । कार्यक्रम विश्वविद्यालयको स्कूल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउनेछ ।

टिचर कलेज कार्यक्रम महानगरपालिकाको नयाँ कार्यक्रम हो । यसमा विद्यालयका शिक्षक तथा संलग्न जनशक्तिको दक्षता बढाउन तालिम सञ्चालन हुनेछ । यसरी सञ्चालन भएका तालिमबाट प्राप्त गरेको अंकका आधारमा योग्यता निर्धारण हुनेछ । यसका लागि छोटो अवधिको पाठ््यक्रम तयार पारिने जनाइएको छ ।

जनशक्तिको क्षमता विकासका क्षेत्र र आवश्यकता पहिचान गर्ने, पाठ््यक्रम र शिक्षण सिकाइ विधि तयार पार्ने स्कूल अफ एजुकेसनले गर्नेछ । यसका लागि आवश्यक पर्ने समय, जनशक्ति तथा अन्य प्रशासनिक खर्चको लागत अनुमान तयार पारेपछि कार्यक्रमगत सम्झौता हुनेछन् ।

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले असल नागरिक उत्पादन गर्न महानगरपालिकाले शिक्षा सुधारका लागि लगानी गरेको बताइन । ‘हामीले तयार पारेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न चाहन्छौँ । यसबाट नीतिमा सुधार गर्नुपर्ने कुनै अवस्था देखियो भने सुधारको अवसर प्राप्त हुनेछ,’ उनले भनिन्, ‘एउटा होइन सबै सामुदायिक विद्यालय नमूना हुनुपर्छ । नानीबाबुलाई विद्यालय पठाउने बेला हरेक अभिभावकको मनमा सामुदायिक विद्यालयको चित्र आउने बनाउनुपर्छ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले शैक्षिक सुधार कार्यक्रमसँगै विद्यालयको पूर्वाधारका लागि हरित विद्यालय कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए । ‘शैक्षिक क्रियाकलाप र पूर्वाधार दुवै क्षेत्रको सुधारबाट विद्यार्थीलाई व्यवहारिक र जीवनउपयोगी शैक्षिक वातावरण प्रदान गर्ने लक्ष्यमा साझेदारी गरेका हौं,’ उनले भने ।

विश्वविद्यालयका उपकुलपति डा. थापाले व्यक्ति, समुदाय र देशको उन्नतिका लागि परम्परागत तथा रैथाने ज्ञान र छोटो अवधिको तालिमबाट प्राप्त अंकका आधारमा योग्यता निर्धारण गर्नुपर्ने बताए । उनले भने ‘यसले व्यक्तिको उत्पादनशीलता बढाउँछ । काममा प्रोत्साहित गर्छ ।’

काठमाडौं महानगर भित्रका सामुदायिक विद्यालयमा २ हजार २ सय २ जना शिक्षक अध्यापनरत रहेको शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिए । सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अनुसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि हुने क्रममा छ । अध्ययनरत करिब १५ प्रतिशत विद्यार्थीको अवस्था कमजोर छ । सामाजिक र आर्थिक रुपमा कमजोर तथा सीमान्तकृत परिवारका बालबालिका यस वर्गमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *