मुस्ताङबाट तेइस करोड मूल्य बराबरको च्याङ्ग्रा निकासी

Sharing is caring!

कात्तिक ६, २०८० । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिए।

‘जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा तेइस करोड दुई लाख रुपैयाँ मूल्य बराबरको च्याङग्रा निकासी भएको छ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए। गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो।

प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ। च्याङग्रा खरीद गर्न व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगेका थिए।

कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन्। गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडा(च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए।

तीनदेखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ। हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरूले लेकाली जडिबुटिहरू खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरूको अनुभव छ। दशैँ(तिहारमा च्याङग्राको मासुुको खपत बढी हुने गर्छ।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन्। पैसठ्ठी ठूला च्याङग्रा फार्म छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० सम्म घरघरमा च्याङग्रा पालेका छन्। हिमचुतुवा, ब्वाँसो र जंगली कुकुर च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको २५ हजार रुपैयाँ थियो। कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताए। वैशाख र भदौमा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो। यो खबर नागरिक दैनिकबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *