कपिल शर्माको शोमा आमिर खान

Sharing is caring!

चैत ७, २०८० । बलिउडका कमेडी किङ कपिल शर्मा यतिबेला आफ्नो कमेडी शो ‘द ग्रेट इण्डियन कपिल शो’लाई लिएर चर्चामा छन् । यो शोलाई दर्शकहरु लामो समयदेखि प्रतिक्षामा छन् । कपिलको यो शोमा लामो समयपछि सुनील ग्रोवर फर्कदैछन् । यसबाहेक कीकु शारदा, कृष्णा अभिषेक, राजीव ठाकुर र अर्चुना पुरनसिंह टिममा छन् ।
यही बीचमा यो शोमा अभिनेता आमिर खान देखिने खबर सार्वजनिक भएको छ । आमिर हालसम्म कपिल शर्माको शोको कुनै पनि सिजनमा देखिएका छैनन् । शोको निर्माण टिमले पनि यसपटकको शोमा आमिरको आगमन हुने जनाउ दिएका छन् ।

‘आमिर खान कहिल्यै पनि कपिल शर्माको कमेडी शोको हिस्सा बनेका छैनन् । तर यसपटक भने शोमा आमिर खानलाई हेर्ने दर्शकको चाहना पुरा हुने भएको छ । अहिलेसम्म चाहिँ आमिर शोमा देखिने कुरा आएको छ, तर शोको प्रसारण पछि आमिर शोमा हुनेछन् या छैनन् भन्ने टुंगो लाग्नेछ’, निर्माण टिमले भनेको छ ।

यो शोमा कपिल शर्मा र सुनील ग्रोवर करिब ७ वर्षपछि पुनः एकसाथ काम गर्दैछन् । यसअघि सुनीलले कपिलका साथ ‘द कपिल शर्मा’ र ‘कमेडी नाइट्स विद कपिल’ जस्ता सिजनमा गुत्थी र डाक्टर मशहूर गुलाटीको चरित्र निर्वाह गरेका थिए । सुनीलको यो चरित्रलाई दर्शकले निकै मनपराएका थिए । तर सन् २०१७ मा कपिलसँग सुनीलको खटपट भएपछि उनले शो छोडेका थिए ।

कपिल शर्माको यो शो टेलिभिजनको सट्टा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिम हुनेछ । शो मार्च ३० बाट प्रसारण हुनेछ । यसपटकको सिजनमा सुमोना चक्रवर्ती र चन्दु भने हुने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *