भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री प्रचण्ड

Sharing is caring!

कात्तिक १, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

बुधबार मुस्ताङमा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका कार्यक्रममा बोल्दै उनले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेका भन्दै भ्रष्टाचारविरोधी अभियानले नयाँ उत्साह जागेको बताएका हुन् ।

उनले भने,‘हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ। यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौं। त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ। सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसपछि पनि अभियानले निरन्तरता पाउनेछ। हामीले शक्तिशाली पार्टी निर्माण गर्ने छौं।’ उनले आफ्नो तेस्रो कार्यकालमा सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको बताए ।

उनले भने,‘मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु। मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ। सबै सूचकहरू सकारात्मक छन्। जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ। तसर्थ, सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरूरी छ। यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ।’

प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ संकट र जोखिमहरू न्युनिकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताए । भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रधानमन्त्री प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *