सरकारले आइतबारबाट चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने

Sharing is caring!

असोज २०, २०८० । सरकारले उपत्यका र उपत्यका बाहिर गरी भोलि (आइतबार)बाट ४२ जिल्लामा चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ ।

उपत्यकामा रहेका आठ बिक्री केन्द्र, तीन वटा घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । यस्तै, उपत्यका बाहिर पनि सरकारले ४८ स्थानमा चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्न लागेको छ ।

उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल सञ्चालन गर्ने सचिवालयले जानकारी दिएको हो ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

जसमा साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमा सामान किन्दा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाउने छन् । यस्तै,नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ उपभोक्ताले छुट पाउने छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २० र पनिर प्रतिदुई सय ग्रामकिन्दा २० रुपैयाँ छुट दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *