चुनावी प्रचारका लागि नयाँ व्यवस्था : दल र उम्मेदवारले १० वटा झण्डा मात्र प्रयोग गर्न पाउने

hitkhabar.com


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले चुनाव प्रचारप्रसारलाई व्यवस्थित र मर्यादित बनाउन नयाँ आचारसंहिता प्रस्ताव गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले प्रचार सामग्री र गतिविधिमा कडाइ गर्ने व्यवस्था अघि सारेको हो।

प्रस्तावित आचारसंहिताअनुसार राजनीतिक दलले आमसभा, जुलुस, कोणसभा तथा घरदैलो अभियानजस्ता कार्यक्रम गर्दा बढीमा १० वटा झण्डा मात्रै प्रयोग गर्न पाउने छन्। आवश्यकता भन्दा बढी झण्डाको दुरुपयोग रोक्ने उद्देश्यले यस्तो व्यवस्था ल्याइएको आयोगको भनाइ छ।

आयोगले दल वा उम्मेदवारको कार्यालयमा तीन गुणा चार फिटसम्मको साइनबोर्ड तथा कपडामा बनेको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न अनुमति दिएको छ। तर प्रचारका नाममा डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न, ध्वनि सामग्री बजाउन वा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने उल्लेख गरिएको छ।

यसैगरी दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ। घरदैलो अभियानका क्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढी सहभागी हुन नपाइनेछ भने बाजागाजा र झाँकी प्रयोग गर्न पनि रोक लगाइनेछ।

अनलाइन माध्यम, टेलिभिजन, स्क्रोलिङ, सपिङ मल डिस्प्ले, कल सेन्टर, बैंकका एटिएम वा काउन्टर, सडक नाटकजस्ता माध्यमबाट प्रचार गर्न निषेध गरिनेछ। तर दल वा उम्मेदवारले एउटामात्रै आधिकारिक निजी वेवपेजमा प्रचार सामग्री राख्न पाउने व्यवस्था गरिएको छ।

दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाएर सार्वजनिक स्थानमा प्रदर्शन गर्न, भित्तेलेखन गर्न तथा चारपाङ्ग्रे सवारी, मोटरसाइकल, साइकल, रिक्सा, टाँगा वा ठेलागाडा प्रयोग गरी र्‍याली वा प्रचार गर्न नपाइने प्रस्ताव गरिएको छ।

निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन यस्तो आचारसंहिता प्रस्ताव गरिएको आयोगले जनाएको छ।

 

प्रतिक्रिया