काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन आह्वान गरेकोमा देशभरका ७७ वटै जिल्लाबाट १७ हजार २२९ जना विद्यार्थीले आवेदन दिएका छन् ।
शिक्षा विभागकी शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार सबैभन्दा बढी विज्ञान विषयतर्फ १२ हजार ३३७ जनाले आवेदन दिएका छन् भने व्यवस्थापनमा ४ हजार ४८१, मानविकीमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन् । यसरी विज्ञान विषयमा मात्र झन्डै ७१ प्रतिशत विद्यार्थीको आकर्षण देखिएको छ ।
हाल प्राप्त सबै आवेदनहरूको छानबिन तथा रुजु कार्य तीव्र गतिमा भइरहेको शिक्षा विभागले जनाएको छ । यो प्रक्रिया असार ३२ गते बिहानसम्म सकिने र साउन १ गतेदेखि विद्यार्थीहरूले आफ्नो प्रवेश पत्र अनलाइनमार्फत डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
प्रवेश पत्र डाउनलोड गर्न काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np वा https://entrance.kathmandu.gov.np/ मा गई 'Admit Card' बटन क्लिक गरेर आवश्यक विवरण भरिसकेपछि प्राप्त गर्न सकिनेछ । सो प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारीसमेत उल्लेख हुनेछ ।
छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछन् । प्रश्नहरू बहुवैकल्पिक हुने र गलत उत्तरमा नेगेटिभ मार्किङ नहुनेछ । उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक ल्याउनु पर्नेछ ।
परीक्षापछि मेरिटका आधारमा छात्रवृत्ति वितरण गरिनेछ । आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई लक्षित यो कार्यक्रममार्फत विद्यालय शिक्षाको अन्तिम तह कक्षा ११ र १२ सम्म गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।
शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार, “यस कार्यक्रमले शैक्षिक अवसरलाई पहुँचयोग्य बनाउँदै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सहयोग गर्नेछ ।”