२० जीवित बन्धकको सूचीमा विपिन जोशीको नाम समावेश भएन

hitkhabar.com


काठमाडौं । हमासको सैन्य शाखाले आज रिहा गर्न लागेका २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । तर सो सूचीमा इजरायलमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश छैन ।

अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता अनुसार आज केही जीवित र मृतक बन्धकहरू रिहा गर्ने कार्यक्रम तय गरिएको थियो । तर, सार्वजनिक गरिएको सूचीमा विपिनको नाम नरहेको पुष्टि भएको हो ।

इजरायली सेनाका अधिकारीले विपिन जोशी अब जीवित नरहेको औपचारिक जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका छन् । उक्त जानकारी बीबीसीले उद्धृत गर्दै सार्वजनिक गरेको हो ।

राजदूत पण्डितका अनुसार आज बिहान साढे ७ बजे भएको भिडियो कन्फरेन्समार्फत इजरायली अधिकारीहरूले विपिन जीवित नरहेको पुष्टि गरेका हुन् । उक्त बैठकमा इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारी, अमेरिकामा रहेकी विपिनकी बहिनी र नेपालमा रहेका उनका दाजु किशोर जोशी पनि सहभागी थिए ।

कञ्चनपुरका विपिन जोशी अध्ययनका क्रममा इजरायल पुगेका थिए । गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी अन्य विदेशी विद्यार्थीहरूसँगै बन्धक बनेका थिए ।

गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक भएको थियो, जसपछि उनको अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेको थियो । तर आज इजरायली अधिकारीले उनलाई जीवित नरहेको औपचारिक जानकारी दिँदै त्यसमा पूर्ण विराम लगाएका छन् ।

प्रतिक्रिया