काठमाडौं । आईटी आर्मीको चौथो स्थापना दिवस सोमबार देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ । स्थापना दिवसको अवसरमा काठमाडौंसहित देशका प्रमुख सहरहरूमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
संस्थाले अल्प समयमै युवामाझ लोकप्रियता हासिल गर्दै वैदेशिक रोजगारी पीडितहरूका मुद्दा उठाउँदै आएको छ । यही पृष्ठभूमिमा चौथो स्थापना दिवसलाई विशेष अवसरका रूपमा मनाइएको हो ।
यस दिवसको सन्दर्भमा आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘आईटी आर्मीको चौथो स्थापना दिवसको विशेष अवसरमा देशव्यापी कार्यक्रमसहित सहरहरूमा दीप प्रज्वलन भएको छ । यति छोटो समयमा आम युवाको आकर्षणको केन्द्र बन्न सफल आईटी आर्मीले शुरू गरेको वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउने आन्दोलन छिट्टै सफल हुने विश्वासका साथ स्थापना दिवसको शुभकामना व्यक्त गर्दछु ।’
प्रविधि र सामाजिक न्यायलाई जोड्दै आईटी आर्मीले आफूलाई परिचित गराउँदै आएको छ । बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नेपाली नागरिकको न्यायका लागि संस्था निरन्तर सक्रिय रहँदै आएको छ । यसक्रममा सडकदेखि अदालतसम्म आवाज उठाउने र प्रविधिको प्रयोगमार्फत सचेतना फैलाउने कार्य भइरहेको बताइएको छ ।
स्थापना दिवसको अवसरमा वैदेशिक रोजगार पीडित परिवारका सदस्यले पनि सहभागिता जनाएको आयोजकहरूले जनाएका छन् । संगठनले आगामी दिनमा अभियानलाई थप सशक्त बनाउँदै लैजाने तयारी गरेको छ ।