काठमाडौं । आज देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मौसममा आंशिक परिवर्तन देखिएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा बादल लाग्नेछ भने केही स्थानमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। त्यस्तै, कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।
राति पनि हिमाली क्षेत्रमा बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने मौसमविद्हरूले बताएका छन्।