मनसुनी प्रभाव बढ्यो, भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ। बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको विभागले जनाएको छ। यसै कारण अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली छ भने अन्य क्षेत्रमा आंशिक बदली भएको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो ३ घण्टामा कैलालीस्थित कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा रेकर्ड भएको छ। यस क्षेत्रमा खोलानाला तथा साना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा लुम्बिनी तराई, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति देशभर सामान्य बदली रहने र पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने, साथै गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र नदी–नालामा पानीको सतह बढ्ने जोखिम भएकाले यातायातसहित दैनन्दिन जनजीवन प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। यसप्रति सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरिएको छ।

प्रतिक्रिया