काठमाडौं । नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज देशभर महिलाहरुले दर खाँदै छन् ।
भाद्र शुक्ल द्वितीया अर्थात तीजको अघिल्लो दिनलाई दर खाने दिनका रुपमा मनाइन्छ । यस दिन महिलाहरुले आगामी दिनमा बस्नुपर्ने कठोर व्रतका लागि शक्ति प्राप्ति होस् भन्ने विश्वाससहित विभिन्न परिकार खाई रमाइलो गर्ने गर्छन् ।
घरघरमा मीठा खानेकुरा बनाएर परिवारजन र आफन्तसँग मिलेर खाने तथा नाचगान गरेर उल्लासपूर्वक दर खाने परम्परा रहेको छ । दर खाएको भोलिपल्ट अर्थात भाद्र शुक्ल तृतीयामा तीज पर्व मनाइन्छ । तीजको दिन महिलाहरुले निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि पौष्टिक खाना अघिल्लो साँझ खाने चलन रहेको पाइन्छ ।
विश्वासअनुसार परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउने अभिलाषा राखी कठोर निराहार व्रत बसिन् र अन्ततः उनको इच्छा पूरा भएको थियो । सोही विश्वासका आधारमा आज पनि अविवाहित नारीले आदर्श पति पाउने कामनासहित र विवाहित नारीले पतिको दीर्घायु, स्वास्थ्य र समृद्धिको लागि तीज पर्व विशेष श्रद्धा र भक्ति साथ मनाउने गर्छन् ।