आज इन्द्र जात्रा मनाइँदै

hitkhabar.com


काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर आज भाद्र शुक्ल चतुर्दशीका दिन विशेष पर्व इन्द्र जात्रा मनाइँदै छ ।

भाद्र शुक्ल द्वादशीका दिन बसन्तपुरस्थित हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा (लिङ्गो) ठड्याएपछि सुरु हुने यो जात्रा लगातार आठ दिनसम्म विभिन्न धार्मिक अनुष्ठान, नाचगान र रथयात्रासहित मनाइन्छ ।

जात्राको मुख्य दिन आज राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदाधिकारीहरु हनुमानढोकास्थित गद्दी बैठकमा भेला भएर जीवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ । यस अवसरमा हजारौँ भक्तजन उपत्यकाका विभिन्न स्थानमा भव्य सहभागिता जनाउँछन् ।

जात्रा अवधिभर देवी–देवताको पूजाआजा, नाचगान र रथयात्रा आयोजना हुन्छ । अन्तिम दिन लिङ्गो ढालेर जात्रा सम्पन्न गरिन्छ । यस पर्वको प्रचलन राजा जयप्रकाश मल्ल को पालादेखि सुरु भएको विश्वास गरिन्छ ।

काठमाडौंसँगै ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा पनि यो पर्व मनाउने परम्परा रहिआएको छ ।

प्रतिक्रिया