काठमाडौं । आज हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज देशभर विधिवत् रूपमा मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन पर्ने तीज पर्व महिलाहरूले भगवान् महादेवको पूजाआराधना गर्दै व्रत बसेर मनाउने गर्छन्।
हिजो दर खाने परम्परा सम्पन्न भएपछि आज महिलाहरू निराहार र निर्जला व्रत बस्ने गर्छन् । परम्पराअनुसार पार्वतीले महादेवलाई वरको रूपमा प्राप्त गर्न व्रत बसेपछि तीज पर्वको चलन सुरु भएको विश्वास गरिन्छ।
तीजमा महिलाले पतिको दीर्घायु, अटल सौभाग्य र सन्तान प्राप्तिको कामना गर्दै पूजा–व्रत गर्ने परम्परा छ । यस दिन शिवालय र शिव मन्दिरहरूमा दर्शनार्थीहरूको विशेष भीड लाग्ने गर्छ । राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि रातो वस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाहरूको बाक्लो उपस्थितिसहित उल्लासपूर्ण माहोल देखिएको छ।
तीज पर्वको अवसरमा सरकारले महिला कर्मचारीलाई बिदा दिएको छ ।