काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटीको छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रूप दिने निर्णय गरेको छ । समितिको अर्को बैठक भोली (बिहीबार) दिउँसो १२:१५ बजे बस्ने तय भएको छ ।
आज (बुधबार) संघीय संसद सचिवालयको राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसेको विशेष समितिको बैठकमा कार्यविधिसम्बन्धी छलफल भएको थियो । समितिका संयोजक एवं नेपाली कांग्रेस सांसद जीवन परियारले कार्यविधि अन्तिम चरणमा पुगेको र अब त्यसलाई अन्तिम रुप दिने प्रक्रियामा समिति अघि बढेको जानकारी दिए ।
उनका अनुसार, 'आजको बैठकमा हिजोको छलफलमा आधारित कार्यविधिबारे पुनः छलफल गरियो। कार्यविधि अन्तिम चरणमा पुगेको छ र अबको काम कसरी अगाडि बढाउने भन्ने विषयमा पनि आजको बैठकले छलफल गर्यो ।'
यसअघि सोमबार बसेको प्रतिनिधिसभा बैठकले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमा भएको संशोधनबारे अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन् ।