काठमाडौं । नेपाली कांग्रेसमा अन्तरसंघर्ष र मतभेद उत्कर्षमा पुगेको छ । राष्ट्रिय राजनीतिमा चुनावी माहोल छाउँदा कांग्रेसमा भने महाधिवेशनको लफडामा फसेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि संस्थापन र इतर समूहबीच वारपारको स्थिति उत्पन्न भएको छ । यसले पार्टी विभाजनकै जोखिमसमेत बढाएको छ । २७ पुसमा विशेष महाधिवेशन आह्वान गर्दै महामन्त्री थापाले कांग्रेसमा प्रश्न मर्न नदिन विशेष महाधिवेशन गर्न लागिएको बताए ।
महामन्त्रीद्वय थापा र शर्माले उठाएको जोखिमले कांग्रेसभित्र नयाँ तरंग र ध्रुवीकरणलाई मलजल गरेको छ । चुनावका बेला आपसी द्वन्द्व छरप्रस्ट हुन पुगेको छ । महामन्त्री पक्षका नेताहरूले बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको आधिकारिक घोषणा गरेसँगै विभिन्न उपसमितिसमेत बनाएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका नाममा व्यापक प्रचार गरिएको छ । महामन्त्रीद्वय थापा र शर्माले बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाएको जनाएका छन् । ‘विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो,’ उनीहरूले भनेका छन् । पार्टीलाई एकढिक्का राखेर विशेष महाधिवेशन गरेरै छाड्ने महामन्त्री थापाले सार्वजनिक प्रतिबद्धता जनाएका छन् ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश संस्थापन पक्ष रोक्न खोज्दा खोज्दै हुन लागेको विशेष महाधिवेशन नेतृत्व चयनको विषयममा मौन छ । भेलामा ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको खण्डमा नेतृत्व नै परिवर्तन हुने सम्भावनालाई भने नेताहरूले जीवितै राखेका छन् । तर बहुमत नपुगेको खण्डमा उक्त भेलाबाट पार्टीको भावी दृष्टिकोणसहितको नीतिगत छलफल गरिने विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् ।
संस्थापन पक्षले भने पार्टी केन्द्रीय समितिको निर्णयबेगर महामन्त्रीद्वयको लहडले बोलाइएको भन्दै विशेष महाधिवेशन नै अस्वीकार गरेका छन् । इतर समूहका नेता डा. शेखर कोइराला र उनीनिकटका नेताहरूले समेत विशेष महाधिवेशनले पार्टीमा विग्रह ल्याउने निष्कर्ष निकाल्दै समाधानका मध्यामार्गी उपाय खोज्नुपर्ने बताउँदै आएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । तर पार्टीले त्यसलाई ग्रहण गर्न चाहेको छैन । केन्द्रीय समितिले विशेष महाधिवेशन रोक्नकै लागि पुस १६ देखि वडा अधिवेशन थालेर पुसको २६–२९ का केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर सो कार्यतालिकाअनुसार महाधिवेशन तयारीका कामसमेत थाँती राखेर आगामी वैशाख २७–२९ मा महाधिवेशन गर्ने कार्यसम्पादन समितिको बहुमतले निर्णय गरेको छ । सो निर्णयप्रति महामन्त्री थापासहित पाँच नेताले असहमति जनाएका छन् ।
पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतले नियमित महाधिवेशन कार्यतालिका आइसकेकाले विशेष महाधिवेशनको औचित्य नरहेको निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । तर विधानको धारा १७ को २ अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी व्यवस्था छ । यही व्यवस्थाअनुसार पुस २७ र २८ गते भृकुटीमण्डपमा हुने विशेष महाधिवेशन उद्घाटन समारोह सहभागी हुन सबैलाई आग्रह महामन्त्रीद्वय थापा र शर्माले आग्रह गरेका छन् ।
संस्थापन पक्षले भने पार्टीको निर्णयविपरीत नजान सम्बद्ध सबै तहलाई चेतावनीयुक्त सन्देश प्रवाह गरेको छ । कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नहुने प्रस्ट पारेको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन÷महाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ केन्द्रीय कार्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आह्वान गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए । उनले मध्यान्हसँग भने, ‘पार्टीको आधिकारिक निर्णयबाट १५औं आवधिक महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकिएको र प्रतिनिधि सभाको निर्वाचनको समेत तयारीमा पार्टीका तमाम नेता कार्यकर्ता एकजुट हुनुपर्नेबेला फरकफरक भेला राख्नु पार्टी विधान र निर्णयविपरीत हुन्छ । यस्तो भेलामा कोही सहभागी हुनु हुँदैन ।’ विशेष महाधिवेशनका नाममा गरिने भेलामा सहभागी नहुनु भन्दाभन्दै सहभागी हुने नेता कार्यकर्ताको विषयमा पार्टीले सोच्नुपर्ने अवस्था आउने उनको चेतावनी छ ।
तर महामन्त्री गगन थापाले पुस २८ भित्र १५औं महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै विधानको व्यवस्थाअनुसारै विशेष महाधिवेशन आयोजना गर्न लागिएको बताएका छन् । उनले विशेष महाधिवेशनको सन्दर्भमा कानुनविदहरूसँग पटकपटक छलफल गरेर यस्तो निर्णयमा पुगेका हुन् । बुधबार पनि बुद्धिजीवीहरूसँग छलफल गरेका थापाले २७ पुसको बिहान ११ बजे विशेष महाधिवेशन उद्घाटन हुने भएकाले सबैलाई उपस्थित हुन निम्तो दिएका छन् । ‘राजनीतिक दलभित्र प्रश्न मर्न दिनहुन्न,’ महामन्त्री थापाले भने, ‘त्यसैले पनि विशेष महाधिवेशन गर्छौं । अब पछि हट्ने कुरा छैन । सबै साथीहरू विशेष महाधिवेशनमा सहभागी हुनुपर्नेछ ।’
यो समूहले विशेष महाधिवेशन आयोजनाको तयारी एक सातअघिदेखि गर्दै आए पनि बुधबार आधिकारिक घोषणा गरेको विशेष महाधिवेशन सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले बताए । यो खबर मध्यान्हबाट लिएका हौ ।