मधेश प्रदेशको नयाँ सत्ता समीकरणले देशमा नयाँ राजनीतिक दिशा खोल्ने संकेत : प्रचण्ड

hitkhabar.com


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा हालै बनेको सत्ता समीकरणले सम्पूर्ण देशमा नयाँ राजनीतिक दिशा तय गर्न सक्ने बताएका छन्।

जनकपुरधाममा शनिबार आयोजित एकता सन्देश सभामा प्रचण्डले नेकपा र मधेशवादी दलको समर्थनमा नेपाली काँग्रेस नेतृत्वमा सरकार बनेको घटनाले पुराना राजनीतिक गठबन्धनको अन्त्य गर्दै नयाँ समीकरणको शुरुआत गरेको बताए। उनले मधेशी जनताले देशका विभिन्न आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै समाजवादी आन्दोलनको नेतृत्व गर्ने क्षमता राख्नेमा विश्वास व्यक्त गरे।

सभामा उनले भनाए कि वर्षौँदेखिको पीडा र विभेद अन्त्य गर्दै कम्युनिष्ट र समाजवादी धाराका पार्टीहरू एक भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएको हो। साथै, देशको समृद्धि कृषिमा आधारित हुने भएकाले अबको क्रान्ति कृषि क्रान्तिको माध्यमबाट हुनुपर्नेमा जोड दिए।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी स्थापना समाजवादी लोकतन्त्र स्थापित गर्न भएको धारणा राखे। उनले २०६२/६३ को जनआन्दोलनले पूँजीवादी लोकतन्त्र स्थापना गरेको भए पनि यसले गरिव र सीमान्तकृत समुदायलाई अझै उपेक्षित बनाएको बताए। खनालले मुलुकमा व्याप्त विभेद र उत्पीडन अन्त्य गर्दै समाजवादी लोकतन्त्रको स्थापना गर्नेमा पार्टी प्रतिबद्ध रहेको पनि बताए।

सह संयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले भने, नेपालमा छिट्टै समाजवाद स्थापित हुने र यसको प्रक्रिया स्पष्ट हुने बताए। उनले भ्रष्टाचार र बेथितिका कारण मुलुकमा भएको जेनजी विद्रोहको उदाहरण दिँदै यसको समाधान नहुँदा भविष्यमा पुनः विद्रोह हुन सक्ने चेतावनी दिए।

सभामा विभिन्न पार्टी छोडेर सयौं नेता र कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भएका थिए। पार्टीले देशभरिका युवा, महिला, वृद्ध र जेनजी वर्गलाई आफ्नो विश्वास केन्द्र बनाउँदै अघि बढ्ने जनाएको छ।

प्रतिक्रिया