काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई–मधेसको दीर्घकालीन खानेपानी समस्या समाधानका विषयमा आज मन्त्रालयमा विशेष बैठक सम्पन्न भएको छ ।
मन्त्री यादवको निमन्त्रणामा आएको भारतीय टोलीसँगको छलफलमा वीरगञ्ज महानगरपालिका र बारा लगायतका जिल्लामा पानीको तीव्र अभाव र त्यसका चुनौतीबारे विस्तृत बहस भएको सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार भारतीय टोली भोलिदेखि संकटग्रस्त जिल्लाहरूमा स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि कार्ययोजना तयार गर्नेछ ।
मन्त्री यादवले भने, “विशेष गरी वीरगञ्जमा पानीको संकट अत्यन्त गम्भीर छ । समस्या समाधान गर्न नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ ।”
यो पहल नेपाल सरकार र भारतको जलशक्ति मन्त्रालयबीच केही महिना अघि हस्ताक्षर भएको समझदारीपत्र (एमओयू) अन्तर्गतको कार्यान्वयन हो । यादवका अनुसार यसले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउनेछ ।
बैठकमा मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।
भारतीय टोलीतर्फ देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, लखनऊ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायत उपस्थित थिए ।