आजदेखि सुनमा २ प्रतिशत विलासिता कर लाग्ने

hitkhabar.com



काठमाडौँ । आजदेखि सुन तथा सुनका गरगहना खरिद गर्दा २ प्रतिशत विलासिता कर लाग्ने भएको छ । सरकारले बजेटमार्फत् सुनचाँदी तथा हिरा–पत्थरका गरगहना बिक्रीमा सीमा नतोकी २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा आजदेखि कार्यान्वयनमा आउने भएको हो ।

आन्तरिक राजस्व विभागले यससम्बन्धी बिलको ढाँचा तोकेर सार्वजनिकसमेत गरिसकेको छ । १ साउन (आज)देखि सुनको खरिद बिक्रीमा तोकिएको ढाँचाअनुसारको बिल बीजक जारी गर्नुपर्ने विभागले जनाएको छ । विभागले भ्याटमा दर्ता भएका र नभएका व्यवसायका लागि फरक–फरक ढाँचा सार्वजनिक गरेको छ ।

अबदेखि बिक्रेताले ज्यालासमेत विवरणमा उल्लेख गर्नुपर्नेछ । यसअघि १० लाख मूल्यभन्दा माथिको गरगहना खरिद गर्दा मात्रै विलासिता कर लाग्दै आएको थियो । चालु आर्थिक वर्षको बजेटमै सुनमा विलासिता शुल्क लाग्ने व्यवस्था राखिएपछि यसको विरोधमा सुनचाँदी व्यवसायी र कालिगढहरू सडकमा उत्रिएका थिए । व्यवसायीहरू आन्दोलनमा होमिएपछि सरकारले यसका लागि अध्ययन गर्न कार्यदलसमेत बनाएको छ । कार्यदलको बैठक बसेर निष्कर्ष निकाल्नुपर्ने र मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने अडानमा व्यवसायीहरू भए पनि सरकारले भने सुनमा विलासिता शुल्क लिने प्रक्रिया अगाडि बढाइसकेको छ ।

यता, नेपाल सुनचाँदी व्यवसायी महासंघले पुरानै तरिकाबाट बिलको काम गर्न र नयाँ तोकिएको बिल नबनाउन देशभरका व्यवसायीलाई अपिल गरेको छ । सुनमा विलासिता शुल्क लगाउँदा मूल्य बढ्ने हुँदा खरिदबिक्री कम हुने र हजारौँ व्यवसायी र लाखौँले रोजगारी गुमाउनुपर्ने अवस्था आउने भन्दै व्यवसायीहरू यसलाई हटाउनुपर्ने लबिइङमा छन् ।

महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले सरकारले गठन कार्यदलको रिपोर्ट आएर नयाँ निर्णय नभएसम्म पुरानै तरिकाले बिल काट्ने बताए । उनले भने, ‘आन्तरिक राजस्व कार्यालयलाई पनि पत्र लेखिसकेका छौँ । मन्त्रिपरिषद्बाट नयाँ निर्णय नभएसम्म विलासिता करको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेका छौँ ।’ पछिल्लो १ वर्षमा सुन ४५ हजार रुपैयाँ प्रतितोलाले महँगो भएको छ । निकै उतारचढावका बीच सुनको भाउ प्रतितोला १ लाख ९८ हजार रुपैयाँसम्म पुगेको थियो । बुधबार १ लाख ९२ हजार रुपैयाँ कारोबार भएको थियो । यो खबर सौर्य दैनिकबाट लिएका हौ । 

प्रतिक्रिया