काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नै विकसित नवीनतम हाइपरसोनिक मिसाइल "ओरेस्निक" को पहिलो चरणको उत्पादन सकिएको र उक्त मिसाइल अहिले सैन्य सेवामा प्रवेश गरिसकेको घोषणा गरेका छन् ।
शुक्रबार उनले सहयोगी राष्ट्र बेलारुसमा यो वर्षको अन्त्यसम्म ओरेस्निक मिसाइल तैनाथ गर्ने योजना रहेको पुष्टि गरे ।
“तयारी कार्यहरू जारी छन्। सम्भवतः हामीले यो वर्षको अन्त्यसम्ममा तैनाथ गर्नेछौँ । ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भइसकेको छ र ती सैन्य सेवामा प्रयोगमा आइसकेका छन्,” पुटिनले भने ।
पुटिनले सेन्ट पिटर्सबर्ग नजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगै बस्दै, बेलारुसमा ओरेस्निक मध्य(दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्न सम्भावित स्थानहरूको छनोट भइसकेको जानकारी पनि दिएका छन् ।
रुसले पहिलो पटक नोभेम्बर महिनामा युक्रेनविरुद्ध ओरेस्निक मिसाइल प्रयोग गरेको थियो । उक्त मिसाइल ड्निप्रोस्थित एउटा कारखानामा प्रहार गरिएको थियो, जुन सोभियत संघको समयमा मिसाइल उत्पादन केन्द्रको रूपमा प्रयोग हुने कारखाना हो ।