कागजात नभएका नेपालीले ५२० रिंगेट तिरेर स्वदेश फर्कन सक्ने

hitkhabar.com


काठमाडौं । मलेसिया सरकारले मलेसियामा कागजात नभएका आप्रवासीलाई काममा लगाउने र लुकाएको आरोपमा हजार रोजगारदाता कम्पनीलाई पक्राउ गरेको छ । अध्यागमन विभागले कागजात नभएका आप्रवासीलाई काममा राखेको वा आश्रय दिएको आरोपमा १ हजार ५ रोजगारदातालाई पक्राउ गरेको हो ।


विभागका महानिर्देशक जकारिया शाबानका अनुसार पक्राउ पर्नेहरूमा रेस्टुरेन्ट, कारखाना र खुद्रा पसलेहरूसहित विभिन्न क्षेत्रका रोजगारदाता संलग्न छन् । जसमध्ये धेरैजसो मलेसियालीहरू छन्, जसले वैध कागजातबिना विदेशी नागरिकलाई आश्रय दिएको पाइएको छ ।


‘जुलाईसम्म हामीले हाम्रा प्रमुख कार्यसम्पादन सूचकहरूको ७० प्रतिशत हासिल गरिसकेका छौं र म विश्वस्त छु कि हामी वर्षको अन्त्यसम्ममा हाम्रो लक्ष्य पार गर्नेछौं,’ उनले एक कार्यक्रममा पत्रकारहरूलाई भने । उनले सोही अवधिमा अध्यागमन विभागले ६ हजार ९ सय १३ राष्ट्रव्यापी अपरेसनहरू सञ्चालन गरेको, ९७ हजार ३ सय २२ विदेशी नागरिकको स्क्रिनिङ गरेको र २६ हजार ३ सय २० शंकास्पद व्यक्तिलाई अध्यागमन अपराध गरेको आरोपमा पक्राउ गरिएको बताए ।


कागजात नभएका आप्रवासीलाई काममा लगाउने रोजगारदाताविरुद्ध एक्सनमा मलेसियन सरकार


उनले कार्यान्वयनलाई निरन्तर तीव्र बनाइने र कागजात नभएका आप्रवासीहरूसँग कुनै सम्झौता नगरिने बताए ।


विभागले देशभरका २ सयभन्दा बढी पहिचान गरिएका हटस्पटहरूको पनि निगरानी गरिरहेको छ, जसमा दुर्गम र ग्रामीण क्षेत्रहरू पनि समावेश छन् । उनले गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारहरूको धरपकड तीव्र बनाउँदै कानुन उल्लंघन गर्ने जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।


मलेसियाले धरपकडसँगसँगै गैरकानुनी रूपमा बसेका नेपालीसहित आप्रवासी कामदारहरूलाई लक्षित गर्दै स्वदेश फिर्ती कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । त्यहाँको सरकारले प्रायद्वीपीय मलेसिया र लाबुआनमा कागजात नभएका आप्रवासीहरूका लागि सञ्चालन गरेको आप्रवासी स्वदेश फिर्ती कार्यक्रम पीआरएम–२ ३० अप्रिल २०२६ सम्म चल्नेछ ।


पीआरएम–२ अन्तर्गत वैध पासबिना मलेसियामा प्रवेश गर्ने वा बस्ने व्यक्तिहरूलाई अनुमति दिइएको अवधिभन्दा बढी बस्नेहरूलाई ५ सय मलेसियन रिंगेट चक्रीय जरिमाना तिर्नुपर्नेछ । पास सर्तहरूको उल्लंघनका लागि ३ सय रिंगेट चक्रीय जरिमाना तिरेर स्वदेश फर्कन सक्नेछन् । आवेदकहरूले विशेष पासको प्रत्येक जारीका लागि २० रिंगेट तिर्नुपर्नेछ ।


गैरकानुनी नेपालीले घर फर्कनका लागि पासपोर्ट अथवा यात्रा अनुमतिपत्र ‘ट्राभल डकुमेन्ट’ साथमा हुनुपर्ने, १४ दिनभित्रको हवाई टिकट खरिद गर्नुपर्ने, मलेसियामा भएको नजिकैको जुनसुकै अध्यागमन विभागको कार्यालयमा गएर जरिमाना रकम तिर्न सकिने, अपोइन्टमेन्ट लिनुपर्ने, जरिमाना रकम तिर्नलाई डेबिट अथवा क्रेडिट कार्ड हुनुपर्नेछ । घर फर्किन जरिमाना शुल्क ५ सय रिंगेट र स्पेसल पासका लागि २० रिंगेट गरी ५ सय २० तिर्नुपर्नेछ । यो खबर राजधानीबाट लिएका हौ ।

प्रतिक्रिया