काठमाडौं । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै रही देशका अधिकांश भागमा मौसम बदली भएको छ ।
हाल कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थुप्रै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य क्षेत्रका थोरै स्थानहरूमा पनि यस्तै प्रकृतिको वर्षा हुन सक्ने देखिएको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि यस्तै मौसम रहने देखिएको छ । कोशी प्रदेशका धेरै स्थानहरूमा, साथै मधेश, बागमती र गण्डकी प्रदेशका केही भागमा मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना छ । गण्डकी र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा वर्षा वा हिमपात हुन सक्छ । वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।