मनसुन सक्रिय : मधेशमा हावाहुरी र देशभर भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर मनसुनी प्रणालीको प्रभाव कायमै रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास तथा पूर्वी भूभागमा केही उत्तरतर्फ रहेकोले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशमा पनि केहि स्थानहरूमा पानी पर्न सक्ने अनुमान गरिएको छ ।

कोशी प्रदेशका थोरै भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहँदा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले औँल्याएको छ ।

यसका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ । मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने चेतावनीसमेत दिइएको छ ।

आज रातिको मौसम पनि आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागमा केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाले सम्भावित भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया