पार्टी एकताको अभियानले कतिपय घटकको सात्तो गएको छ : सहसंयोजक नेपाल

hitkhabar.com


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सात्तो गएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले एकताको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताए । नेपालले भने, “एकताको अभियान अगाडि बढिरहेको छ, यसले नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सात्तो गएको हुनुपर्छ । उनीहरूको होस हवास गुमेको हुन सक्छ । तर होस गुमाउनु आवश्यक छैन, बरु धन्यवाद दिनुपर्छ — मैले बिगारेँ, तपाईंहरूले सपार्नुभयो भनेर धन्यवादको प्रस्ताव पास गरे हुन्छ ।”

उनका अनुसार पार्टी एकताको अभियानले देशभर सकारात्मक सन्देश फैलाइरहेको छ । तर केही समूहले गाली–गलौज र आरोप–प्रत्यारोपको बाटो लिनु उचित नभएको उनको भनाइ छ ।

सहसंयोजक नेपालले पार्टी र नेताहरूभित्र रहेका विकृति, विसंगति र गलत अभ्यासलाई समयमै सच्याउनुपर्नेमा जोड दिए । उनले भने, “यदि हामीले आत्ममन्थन र समिक्षा गर्न सकेनौं भने फेरि नयाँ बोतलमा पुरानो रक्सी हालिएको जस्तै स्थिति दोहोरिन बेर लाग्दैन । राजनीति र नेताप्रति जनतामा निराशा किन पैदा हुँदैछ भन्ने प्रश्नमा हामीले गम्भीर भएर सोच्नैपर्छ ।”

नेपालले आफ्नो पार्टी नयाँ सोच र चरित्र बोकेको पार्टीका रूपमा अघि बढिरहेको दाबी गरे । उनका अनुसार यो पार्टी क्रान्तिकारी, इमान्दार र देशप्रेमी योद्धाहरूको पार्टी हुनेछ, जसको मूल उद्देश्य समाज रूपान्तरण र जनसेवामा समर्पित रहनु हुनेछ ।

प्रतिक्रिया