घरजग्गा कारोबार घट्दो, राजस्व बढ्दो

hitkhabar.com


काठमाडौं । घरजग्गा कारोबारमा मन्दी र जग्गाको मूल्य यथावत् भए पनि सरकारलाई प्राप्त हुने राजस्व भने अघिल्लो वर्षको तुलनामा ९ अर्ब रुपैयाँले बढेको छ । किन्ने भन्दा बेच्ने धेरै र घरजग्गाको मूल्य ४ वर्षअघिकै अवस्थामा भएपनि सहर र आसपासका जग्गाको कारोबारले गर्दा राजस्व बढेको हो । घरजग्गाको मूल्य बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई पनि हम्मेहम्मे पर्न थालेको छ ।

खरिदविक्री नभएर कारोवारमा मन्दी आएपछि लिलाम सकार गरेका धितोका कारण बैंकहरूसँग गैरबैंकिङ सम्पत्ति बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा हाल कुल ४५ अर्ब ११ करोड रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ । त्यसमध्ये वाणिज्य बैंकहरूको २८ अर्ब ७९ करोड, विकास बैंकहरूको ४ अर्ब १६ करोड र फाइनान्स कम्पनीको २ अर्ब ७४ करोड रुपैयाँ हो । गैरबैंकिङ सम्पत्ति बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरूले रेगुलेटरी रिजर्भ राख्नुपर्दा समस्या उत्पन्न हुन थालेको हो ।

घरजग्गा कारोबारमा मन्दी आएपछि बैंकहरूले जग्गाको धितोका आधारमा समेत लिलाम बढाबढ गर्न सकेका छैनन् । ऋणीहरूले ऋण लिँदा राखेको धितो लिलाम बिक्री गर्दासमेत कसैले पनि खरिद नगर्दा बैंक तथा वित्तीय संस्थाहरू आफैंले सकार्नु परिरहेको नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसी बताउँछन् । पछिल्लो समय बढ्दै गएको खराब कर्जा ९एनपीएल०ले बैंकिङ क्षेत्र आक्रान्त छ ।

यस्तोमा गैर बैंकिङ सम्पत्ति (एनपीए) समेत बढ्दा मुनाफासँगै बैंक तथा वित्त कम्पनीको वासलातमै नकारात्मक असर परेको छ । राष्ट्र बैंकका अनुसार आव २०८१–८२ को जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ४५ अर्बभन्दा माथि पुगेको छ । आव २०८०–८१ सोही अवधिको तुलनामा गत वर्ष यस्तो सम्पत्ति १६ अर्ब ९६ करोड ६० लाख रुपैयाँले बढी हो । कर्जा असुली कमजोर भएसँगै खराब कर्जा र गैरबैंकिङ सम्पत्तिसमेत बढेको छ ।

साथै, कर्जा डिफल्ट रेट बढेपछि बैंकहरू लगानी गर्नसमेत डराएको अवस्था छ । घरजग्गा कारोबारमा आएको ह्रासका कारण बैंक तथा वित्तीय संस्थाहरू र सहकारीहरू समस्यामा परे पनि घरजग्गाको कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व भने बढेको छ । अघिल्लो आवमा घरजग्गा कारोबारबाट ४० अर्ब रुपैयाँ राजस्व प्राप्त भएकामा आव २०८१–८२ मा ४९ अर्ब संकलन भएको छ । आव २०८१–८२ मा घरजग्गा कारोबार १५ लाख ८० हजार ८ सय ९८ वटा भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आव २०८०–८१ मा १६ लाख २० हजार ८ सय ९५ वटा घरजग्गा कारोबार भएको थियो । यस तथ्यांकले घरजग्गा कारोबारमा ४० हजार वटाले कमी आएको छ । राजस्व संकलन भने ९ अर्बले बढेको छ । महँगो मूल्यका घरजग्गा र अपार्टमेन्ट खरिदबिक्री हुँदा राजस्व बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको भनाइ रहेको छ । तर, मूल्य भने ४ वर्षअघिको अवस्थामा पुगेको छ ।

काठमाडौको बुद्धनगरमा भन्नलाई त आनाको ७० लाख रुपैयाँ हो तर ५० लाखमा पनि बिक्री गर्न तयार हुनेहरू भेटिन्छन् । यो भनेको ४ वर्षअघिकै मूल्यमा आएको हो । सरकारले घरजग्गा कारोबारबाट आव २०८०–८१ मा १४ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेकामा आव २०८१–८२ मा यस्तो लाभकर बढेर १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । घरजग्गामा ५ वर्षभन्दा बढीको स्वामित्वको किनबेचमा ५ प्रतिशत र ५ वर्षसम्मको स्वामित्वमा ७ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था छ ।

विभागका अनुसार आव २०८०–८१ मा ५ लाख ३५ हजार ६ सय ७ वटा लिखत पारित भएको थियो भने आव २०८१–८२ मा ५ लाख ३८ हजार १ सय २८ मात्र कारोबार भएको थियो । सरकारले असार महिनामा मात्रै घरजग्गा कारोबारबाट ६ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले घरजग्गा कारोबारबाट रजिस्ट्रेसन दस्तुर ३ अर्ब ४९ करोड ७० लाख, पुँजीगत लाभकर २ अर्ब ५६ करोड ५३ लाख आर्जन गरेको छ । सबैभन्दा बढी राजस्व संकलन गर्ने मालपोत कार्यालयहरूमा लगनखेल अग्र स्थानमा छ ।

ललितपुरको लगनखेल मालपोत कार्यालयले ६५ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । भक्तपुर मालपोतबाट भने ६४ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी काठमाडौं डिल्लीबजार मालपोतले ५२ करोड ९४ लाख रुपैयाँ र कलंकी मालपोत कार्यालयले ४६ करोड ३७ लाख राजस्व संकलन गरेको छ । कारोबार रकम र राजस्व कम भए पनि अधिक घरजग्गा कारोबार भएका मालपोत कार्यालयहरूमा इनरुवा (सुनसरी), जनकपुरधाम (धनुषा) भद्रपुर (झापा), बेलबारी (मोरङ) र भक्तपुर रहेका छन् । यो खबर राजधानीबाट लिएका हौ । 

प्रतिक्रिया