काठमाडौं । स्वदेशमा भनेजस्तो रोजगारी नपाएको भन्दै नेपाली कामदारबीच जसरी पनि वैदेशिक रोजगारीमा जाने मोह बढेसँगै पछिल्लो १३ वर्षमा झन्डै साढे ७६ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको ‘श्रम आप्रवासन प्रतिवेदन–२०२४’ अनुसार सन् २०११–१२ देखि सन् २०२३–२४ को १३ वर्षको अवधिमा कुल ७६ लाख ३६ हजार ८ सय २५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
मन्त्रालयद्वारा जारी सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको यो संख्या संस्थागत श्रम स्वीकृति, व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर गएकाहरूको विवरण हो । यसबाहेक श्रम स्वीकृति बिना भिजिट भिसालगायत विभिन्न तरिका अपनाउँदै सरकारलाई झुक्क्याएर तेस्रो मुलुक हुँदै बिचौलियाको पछि लागेर बिदेसिएकाहरूको संख्या यसमा समावेश गरिएको छैन । यस प्रतिवेदनमा आवश्यक सबै प्रक्रियाबमोजिम वैधानिक रूपमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या मात्र समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
सन् २०२४ सम्मको बितेका पछिल्लो १३ वर्षको अवधिमा वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये २८ लाख ४० हजार २३ जना पुनः श्रम स्वीकृति लिएर गएकाहरूको विवरण हो । यसैगरी, समीक्षा अवधिमध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरूमा पछिल्लो दुई आर्थिक वर्ष सन् २०२२–२३ र सन् २०२३–२४ मा मात्र कुल १५ लाख १२ हजार ६ सय १६ जना छन् । जसमा १ लाख ५२ हजार ३ सय ५ जना महिला कामदार रहेका छन् ।
सो प्रतिवेदनमा उल्लेख भएअनुसार कोरोना महामारीपछि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न श्रम गन्तब्यमुलुकतर्फ जाने कामदारको संख्या केही घटेको छ । सन् २०२२–२३ यता नेपाली कामदारको माग बढेपनि अझै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या न्यून देखिएको छ ।
सन् २०२२–२३ मा ५ लाख ८३ हजार ४ सय ५५ जना पुरुष कामदारको मागपत्र प्रमाणीकरण भएको थियो । सो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या जम्मा ४ लाख ९४ हजार २ सय १७ जना मात्र थियो । सोही वर्ष महिला कामदारका लागि ८३ हजार ७ सय ६२ वटा माग आएकोमा जम्मा ४३ हजार ४ सय ९९ जना मात्र वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएका थिए ।
यसैगरी, सन् २०२३–२४ मा पुरुष कामदारका लागि ५ लाख ५० हजार ७ सय ४० वटा माग आएकोमा जम्मा ४ लाख ६० हजार १ सय २ जना मात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका थिए । सोही वर्ष ८८ हजार ८ सय २५ जना महिला कामदारको माग आएपनि जम्मा ५९ हजार ५ सय ७७ जना मात्र गएका थिए ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या क्रमशः बढ्दो अवस्थामा रहेको सो प्रतिवेदनमा उल्लेख छ । सन् २००८–००९मा वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या ३ दशमलव ९ प्रतिशत मात्र थियो । सन् २०२३–२४ मा आइपुग्दा सो संख्या बढेर १२ दशमलव ९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
नयाँ श्रम गन्तव्य मुलुकमा रोजगारीको आकर्षण बढेपनि पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा खाडीका देशहरूमा जाने नेपाली कामदारको संख्या धेरै छ । सन् २०२२–२३ मा व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर खाडीका विभिन्न देशमा ४ लाख १८ हजार ६ सय ८४ जना गएका छन् । जसमध्ये खाडीका ६ वटा मुलुकमा नेपाली कामदार गएका छन् । समीक्षा अवधिमा नेपाली कामदार खाडीका विभिन्न देशहरू कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुवेत र बहराइनमा गएका छन् ।
सो वर्ष खाडीबाहेकका बाँकी सबै मुलुकमा जाने नेपाली कामदारको संख्या जम्मा ३ लाख ५२ हजार ६ सय ३५ मात्र थियो । खाडीको रोजगारी आकर्षणले वैदेशिक रोजगारीको ८० प्रतिशत हिस्सा ओगटेको श्रम मन्त्रालयले जनाएको छ । त्यसपछि २०२३–२४ मा ५ लाख २५ हजार ६ सय ९२ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न देशमा गएका छन् । सोही वर्ष खाडी बाहेकका मुलुकमा जम्मा २ लाख १५ हजार ६ सय ५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् ।
मन्त्रालयद्वारा जारी सो प्रतिवेदन अनुसार सन् २०२३–२४ मा वैदेशिक रोजगारीमा गएका कामदारमध्ये पुरुष कामदारमा १८ देखि २४ वर्ष उमेरका २९ दशमलव ६ प्रतिशत रहेको छन् । यसैगरी, २५ देखि ३४ वर्ष उमेर समूहका ४५ दशमलव ७ प्रतिशत, ३५ देखि ४४ वर्ष उमेर समूहका २२ दशमलव ६ प्रतिशत र ४५ वर्ष भन्दा माथि उमेर समूहका १ दशमलव ८ प्रतिशत रहेका छन् ।
त्यस्तै, १८ देखि २४ वर्ष उमेर समूहका महिला कामदार ३९ दशमलव १ प्रतिशत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । सोही अवधिमा २५ देखि ३४ वर्ष उमेर समूहका ४८ प्रतिशत, ३५ देखि ४४ वर्ष उमेर समूहका १२ दशमलव १ प्रतिशत र ४५ वर्षमाथिका शून्य दशमलव ८ प्रतिशत महिला कामदार वैदेशिक रोजगारीमा गएको पाइएको सो प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो दुई वर्षमा सबैभन्दा बढी मधेस प्रदेशबाट र त्यसपछि कोशी प्रदेशबाट धेरै कामदार विदेशिएका छन् । सबैभन्दा कम कर्णाली र सुदूरपश्चिम प्रदेशबाट गएका छन् । कर्णाली र सुदूरपश्चिमका कामदारहरूमध्ये धेरै मौसमी कामदारको रूपमा छिमेकी देश भारत जाने गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । समीक्षा अवधिको दुई वर्षमा सबैभन्दा धेरै महिला कामदार बागमती र कोशी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा न्यून कर्णाली र सुदूरपश्चिम प्रदेशका रहेका छन् ।
सोही अवधिमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूमध्ये १० लाख ८३ हजार २ सय ६९ जना स्वदेश फर्किएको पनि प्रतिवेदनमा समावेश गरिएको छ । जसमध्ये ९३ हजार ७ सय ५७ जना महिला कामदार र ९ लाख ८९ हजार ५ सय १२ जना पुरुष कामदार रहेका छन् ।
यस प्रतिवेदनअनुसार सन् २००८–०९ देखि २०२३–२४ सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारहरूमध्ये १३ हजार १ सय ७३ जनाले ज्यान गुमाएका छन् । यसैगरी, सो प्रतिवेदनले कार्यस्थल र बसस्थानको अवस्था, स्वास्थ्य परीक्षणको कम पहुँच, कार्यघण्टा भन्दा बढी काम लगाइने, भासा एवं रोजगारदाता मुलुकमा संस्कृतिको अवरोधका कारण शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पनि औँल्याएको छ ।
विशेषगरी खाडी राष्ट्रहरूमा बढी तापक्रम हुने गरेका कारण भवनभन्दा बाहिरको आउटडोर काम गर्ने कामदारको स्वास्थ्यमा भने जोखिम कायमै रहेको अध्ययनमा देखिएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमा पनि कामको प्रकृतिका कारण कृषि तथा घरेलु कामदारको रूपमा काम गर्ने महिला कामदार भने अझै जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली कामदारले श्रम गन्तव्य मुलुकको स्वास्थ्य उपचार गर्न नसक्दा रोजगारदाताले पनि बिरामी कामदारलाई बोझको रूपमा हेर्ने गरेको र स्वदेश फर्काइदिने गरेको तीतो यथार्थका ’boutमा पनि प्रतिवेदनले सरकारको ध्यानाकर्षण गराएको छ । यो खबर राजधानीबाट लिएका हौ ।