काठमाडौं । देशका केही भागमा आज (शुक्रबार) हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भए पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले केही क्षेत्रमा प्रभाव देखिन सक्ने विभागको भनाइ छ ।
विशेषगरी वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। कतिपय स्थानमा मेघगर्जन र चट्याङसमेत देखिन सक्छ ।
रातिको अवस्था हेर्दा, कोसी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। कोसी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै, कोसी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।