काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बिहीबार जारी बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरूले ओलीलाई अध्यक्ष पदमा राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न सुझाव दिनुका साथै एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने माग गरेका छन् ।
बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले अध्यक्ष ओलीको राजीनामा माग गर्दै नेतृत्व हस्तान्तरण हुनुपर्ने सुझाव दिए । मानन्धरले पार्टी जनतासँग एकाकार हुन नसकेको भन्दै नेतृत्व परिवर्तनको गर्नुपर्ने आवश्यकता औल्याए ।
‘जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ, तर अध्यक्ष कमरेड आजसम्म त्यसमा सफल देखिनुभएको छैन, देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट जोगाउन उहाँले सहयात्री कमरेडहरूमाथि विश्वास गर्दै राजीनामा दिनु आवश्यक छ,’ मानन्धरले भने, ‘सामूहिक नेतृत्वको अभ्यास आजको ऐतिहासिक आवश्यकता बनिसकेको छ, अब ढिला गर्नुहुँदैन, पार्टीलाई थप क्षति हुनबाट सबै मिलेर जोगाऔं ।’
उनले वर्तमान नेतृत्वका कारण पार्टी मात्र नभई देशसमेत गम्भीर संकटमा परेको आरोप गम्भीर आरोप लगाए । बैठकमा नेताहरूले ओलीको राजीनामाका साथै पूर्वराष्ट्रपति समेत रहेकी भण्डारीको सदस्यता नरोक्न नेतृत्वमाथि दबाब दिएका छन् ।
बैठकमा अध्यक्ष ओलीले राखेको प्रस्तावमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरू रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिन दवाब दिएका छन् । उनीहरूले ओलीलाई पार्टी अध्यक्षबाट मार्ग प्रशस्त गर्नका लागि पनि सुझाव दिएका छन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किंदै गएको छ । पार्टीबाहिरबाट ओलीको राजीनामा दिन आवाज उठ्दै आएपछि नेताहरूले पार्टीको बैठकमै ओलीमाथि राजीनामाको दबाब दिएका छन् ।
पछिल्लोपटक बसेको एमाले सचिवालय बैठकमा पनि बहुमत सदस्यले ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव दिएका थिए । सो सुझाव केन्द्रीय कमिटीमा पनि निरन्तरता पाएको छ ।
नेताहरूले ओलीलाई राजीनामा दिँदै पार्टीको अभिभावकीय भूमिकामा बस्नु सुझाव दिँदैगर्दा ओली समूहका नेताहरूले भने त्यसको प्रतिवाद गरेका छन् । ओली समूहका नेतारुले राजीनामा माग्नेले नै राजीनामा दिनुपर्ने आवाज उठाएका छन् ।
केन्द्रीय सदस्य लक्ष्मी गौतमले पार्टी अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीलाई पहिले आफूले राजीनामा दिन चुनौती दिएकी छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने गौतमले केही पदाधिकारीले अध्यक्षको राजीनामा मागेको चर्चा भइरहेको भन्दै उनले ओलीको राजीनामा माग्ने पदाधिकारीको राजीनामा माग्दा के हुन्छ भनेर प्रश्न गरिन् ।
अर्का केन्द्रीय सदस्य रोमनाथ ओलीले पनि ओलीको विकल्प खोजेर पार्टीमा विवाद निम्त्याउने समय अहिले नभएको धारणा राखेका राखेका छन् । ‘पार्टी र नेतृत्व यस्तो संकटमा गुज्रिएको छ, यसैबेला राजीनामा माग्ने रु’ ओलीले भने, ‘नेतृत्व चयनका लागि महाधिवेशन घोषणा भइसकेको छ, यस विषयमा त्यही छलफल गरौं, त्यही टुंगो लगाऔं ।’
ओलीले कार्यकर्ता र जनताका वास्तविक समस्या र गुनासा केन्द्रीय कमिटीसम्म आइनपुगेको गुनासोसमेत गरे । उनले केन्द्रीय कमिटीमा छलफल भएभन्दा फरकखालका गुनासो जनतामा रहेको समेत बताए ।
यस्तै, बैठकमा अध्यक्ष ओलीले जेनजी आन्दोलनप्रति व्यक्त गरेको अभिव्यक्तिमाथि समेत प्रश्न उठेको छ । केन्द्रीय सदस्य युवराज बास्कोटाले ओलीको अभिव्यक्तिप्रति असहमति जनाउँदै जेनजी पुस्ताले उठाएका मुद्दाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।
‘जेनजी कुनै राजनीतिक दल होइन, यो पुस्ता विशेषको आकांक्षा हो, जसले तत्कालीन सत्ताविरुद्ध सडकमा आवाज उठायो, यद्यपि आन्दोलनका क्रममा केही हिंसात्मक क्रियाकलाप भए पनि त्यसको आधारमा पुरै पुस्तालाई दोष दिन मिल्दैन,’ उनले भने ।
जेनजी आन्दोलनकारीलाई गाली होइन, तिनले उठाउँदै आएका समसामयिक मुद्दालाई सम्बोधन गर्नुपर्ने उनले बताए ।
फरक प्रसंगमा उनले पार्टीमा बृहत् एकताका लागि पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढंगले पार्टी काममा फर्कन पाउनुपर्ने विषयमा ध्यान दिनुपर्ने बताए ।
उनीहरूले नेतृत्वको निरन्तरता अबको निकास नहुने भन्दै समयको पदचाप बुझ्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । यद्यपि, केन्द्रीय कमिटीमा ओलीले आगामी २७ देखि २९ मंसिरमा पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।
बैठकमा नेताहरूले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिनुपर्ने र ओलीले अध्यक्षबाट राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्नुपर्ने सुझाव दिइरहेका छन् ।
केन्द्रीय सदस्य परशुराम अधिकारीले जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताको संलग्नता रहेको भन्दै त्यस’दयगत अनुसन्धान गर्न माग गरेका छन् । अधिकारीले आगजनी र तोडफोडजस्ता घटनामा एमाले कार्यकर्ताहरू पनि सहभागी भएको देखिएको भन्दै सो विषयमा पार्टीले छानबिन गर्नुपर्ने बताए ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बैठकमा केन्द्रीय सदस्यहरूलाई ३ मिनेटमा आफ्नो धारणा राख्न समय दिएको बताए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रमअनुसार उल्टोतिरबाट (ज्ञ बाट) पालो मिलाइएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरूका धारणाा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने तय भएको छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिने तयारी छ ।
रावलको कारबाही फिर्ता लिन माग
बैठकमा केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललगायतको कारबाही फिर्ता हुनुपर्ने माग राखेका छन् । रावललगायतको कारबाही फिर्ता हुनुपर्ने माग गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने बताए ।
रावलले भने, ‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्थपरक बनौं, देश गम्भीर संकटमा छ, संविधान मुर्छित, लोकतन्त्र घाइते र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा छ, घनघोर षड्यन्त्र र आकर्मण्यताको सम्भावना टरेको छैन ।’ जनता एकातिर हुँदा पार्टी सदस्यहरू भने अर्कोतिर हिँडिरहेको उनको भनाइ छ ।
एकीकृत समाजवादीको बैठक स्थगित
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक बुधबार बसेको थियो । केन्द्रीय कमिटीको बिहीबारका लागि भर्चुअल बैठक तय गरेको थियो ।
सो बैठक स्थगित गर्दै १२ र १३ कात्तिकमा फिजिकल केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले जनाएका छन् ।
समाजवादी मोर्चामा रहेका दलहरूबीच पार्टी एकताको गृहकार्य भइरहेका बेला सो पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो । एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग पार्टी एकता’bout मतभेद रहँदै आएको छ । एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका दलहरूसँग पार्टी एकताका लागि गृहकार्य अन्तिम चरणमा पुगेको छ । यो खबर राजधानीबाट लिएका हौ ।