मुगु । नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा नयाँ राष्ट्रिय निकुञ्ज ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वन मन्त्रालयको प्रस्तावमा राष्ट्रिय निकुञ्ज घोषणा गर्ने निर्णय गरेको हो। करिब ५० वर्षअघि अर्थात् वि.सं. २०३२ मा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको मुगुमा यो दोस्रो राष्ट्रिय निकुञ्ज बन्ने भएको छ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको विशेष पहलमा स्थापित छायाँनाथ राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज हुने मन्त्री शाहीले बताए।
उनका अनुसार, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब ९०६ वर्गकिलोमिटर भू–भागलाई छुट्याएर नयाँ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो।
स्थानीयवासीको माग र कठिनाइलाई मध्यनजर गर्दै निकुञ्ज स्थापना गरिएको मन्त्री शाहीले स्पष्ट पारे। डोल्फु क्षेत्रका बासिन्दाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज आउजाउ गर्न पैदल यात्रामै एक सातासम्म लाग्ने भएकाले नयाँ निकुञ्ज आवश्यक भएको बताइएको छ।
यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ।