धरान — सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा एक युवतीको गोली प्रहार गरी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतबाट आएको एक व्यक्तिले आफ्नै सालीमाथि गोली प्रहार गरेका हुन्।
भारतको पत्रहा पंचायत–१६ घर भएका करिब २९ वर्षीय अजाद मियाँ जटले सोमबार बिहान १८ वर्षीया आरसी खातुनमाथि गोली प्रहार गरेका थिए। गोली लागेर घटनास्थलमै खातुनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार घटना लगत्तै मियाँ जट फरार भएका छन् र हाल उनको खोजीकार्य तीव्र पारिएको छ। घटनास्थलबाट पेस्तोलमा प्रयोग हुने एकथान गोली समेत बरामद गरिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ भने प्रारम्भिक सूचनाका आधारमा यो घटना व्यक्तिगत विवादसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ।
14 Jul 2025