काठमाडौं । सेयर बजारमा देखिएको अनियमितता, भ्रष्टाचार र निष्क्रिय नियमनका कारण असन्तुष्ट लगानीकर्ताहरूले शुक्रबार नेपाल धितोपत्र बोर्ड (SEBON) अगाडि दबाबमूलक कार्यक्रम सञ्चालन गरेका छन्।
‘हिँड काठमाडौं’ अभियान अन्तर्गत विभिन्न ठाउँका लगानीकर्ताहरू बिहानै बोर्डको कार्यालय पुगेका थिए। उनीहरूले बजार सुधार, पारदर्शिता र लगानीकर्ताको हितका लागि ठोस कदम चाल्न माग गर्दै नाराबाजी गरेका छन्।
लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताको हितका लागि भए पनि यसले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाए। उनले भने, “हामीले खाना खाएको थाली सफा नगरी फेरि खान सकिँदैन। त्यसैले बजारलाई पनि शुद्धिकरण र सुधार नगरी चलायमान बनाउन सकिँदैन।”
अग्रवालले थपे, “बोर्ड लगानीकर्ताको हितका लागि हो भने त्यसले लगानीकर्ताको पक्षमा किन काम गर्दैन ? यदि काम गर्न नसक्ने हो भने यस्तो बोर्डको के आवश्यकता ?” उनले अन्तरिम सरकारले लगानीकर्ताको आवाज सुन्ने र सुधारका काम अघि बढाउने विश्वास व्यक्त गरे।
उनका अनुसार, “अहिलेको सरकारले काम गर्छ भन्ने अपेक्षा छ। यदि यो सरकारले पनि काम गरेन भने पहिलाको र अहिलेको सरकारबीच फरक रहने छैन।”
उता, अभियानका अगुवा आदित्य शिवाकोटीले भने, आन्दोलनमार्फत धितोपत्र बोर्डलाई जिम्मेवार बनाउने लक्ष्यसहित आफूहरू अघि बढेको बताए। उनका अनुसार लगानीकर्ताहरूले १८ बुँदे मागपत्रसहित आन्दोलन थालेका छन्।
शिवाकोटीले बोर्डभित्र व्यापक भ्रष्टाचार रहेको आरोप लगाउँदै यसलाई “भ्रष्टाचारमुक्त संस्था बनाउने लक्ष्यसहितको अभियान” भनेका छन्।
लगानीकर्ताहरूका अनुसार, सेयर बजार सुधार, नियमनको पारदर्शिता, लगानीकर्ताको हकहितको सुरक्षा र बजारको स्तरोन्नति नै उनीहरूको प्रमुख माग हो।