काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा सात वटा विधेयक र दुई वटा प्रतिवेदन टेबुल गरिने कार्यसूची छ। प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ र ‘भन्सार विधेयक–२०८०’ मा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, ‘विनियोजन विधेयक–२०८२’, ‘आर्थिक विधेयक–२०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक–२०८२’ समेत राष्ट्रियसभा सन्देशसहित टेबुल गरिनेछ।
आजकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक–२०८२’ प्रस्तुत गर्नेछन् भने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक–२०८२’ प्रस्तुत गर्ने सम्भावना छ।
साथै, बैठकमा महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पनि पेस गरिने कार्यसूचीमा उल्लेख छ।