काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनुसन्धानको दायरामा आएका छन् । अनुसन्धानको दायरामा तानिएका उनी दोस्रो ठुलो व्यक्ति हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वप्रधानमन्त्री देउवा अनुसन्धानमा तानिएका हुन् ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक यही चैत १४ गते पक्राउ परेका थिए ।
देउवापत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा छिन् । शेरबहादुर र आरजुमाथि पक्राउ गर्न अदालतले समेत अनुमति दिइसकेको छ । तर, उनीहरू दुवै नेपालबाहिर छन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । त्यसक्रममा देउवाको घरबाट जलेका नोट बरामद भएको थियो । यो पृष्ठभूमिमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आयस्रोतसँग सम्बन्धित रहेर अनुसन्धान अगाडि बढाएको हो । आयस्रोतसँग नमिल्ने सम्पत्ति देखिएको, शंकास्पद कारोबार तथा परिवारका सदस्यमार्फत गरिएको ठुलो परिमाणको जग्गा खरिद गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।
देउवा दम्पतीको छोराको नाममा ७३ रोपनी जग्गा खरिद भएकोे पाइएको छ । यसको पनि स्रोत खुलेको छैन । यसबाहेक उनीहरूसँग जोडिएका घरजग्गा, बैंक खाता तथा अन्य चल–अचल सम्पत्तिको विवरण संकलन गरिएको छ । केही लुकाइएको सम्पत्तिको स्रोतमा समेत अनुसन्धान अधिकृतहरू पुगेका छन् ।
यी विषयमा विगतदेखि उनीहरूविरुद्ध विभिन्न उजुरीहरू परेका थिए । जेनजी आन्दोलनका क्रममा घरबाट जलेको पैसा नै भेटिएपछि थप प्रमाण जुटेको हो ।
राजनीतिक वृत्तमा तरंग
ठुला राजनीतिक व्यक्तित्वहरूविरुद्ध एकपछि अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्न थालेपछि राजनीतिक वृत्तमा भने तरंग पैदा भएको छ ।
कानुनी दृष्टिकोणले हेर्दा, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउन पहिले मूल अपराध पुष्टि हुनुपर्ने प्रावधान छ । तर, हालसम्म सार्वजनिक रूपमा ठोस फौजदारी मुद्दा पुष्टि नभएको अवस्थामा अनुसन्धानको दायरा फराकिलो बनाइएको भन्दै केहीले प्रश्नसमेत उठाएका छन् ।
सरकार र अनुसन्धानमा संलग्न अधिकारीहरू कानुनी प्रक्रियाअनुसार नै काम भइरहेको दाबी गर्छन् । कानुन सबैका लागि बराबर हो भन्ने सन्देश दिन पनि ठुला व्यक्तिहरूमाथि लागेको आरोपको अनुसन्धान हुनुपर्ने सरकार यही बाटोमा रहेको उनीहरूको तर्क छ ।
शेरबहादुर देउवा नेपालमा पाँचपटक प्रधानमन्त्री भएका व्यक्ति हुन् । उनी कांग्रेसमा लामो समयदेखि पकड राख्दै आएका र पछिल्ला दुई कार्यकाल सभापति भएर नेतृत्व गरेका व्यक्ति हुन् ।
देउवा दम्पती अनुसन्धानको दायरामा आएको विषयमा कांग्रेसभित्र पनि एकमत छैन । देउवानिकट नेताहरू सरकार राजनीतिक प्रेरित कदममा रहेको भनिरहेका छन् भने अर्को पक्ष प्रमाणको निष्पक्ष परीक्षण र न्यायिक प्रक्रियामा विश्वास राख्नुपर्ने पक्षमा छ ।
देउवाको प्रस्टीकरण
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको विषयमा प्रतिक्रिया दिएका छन् ।
‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ,’ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ ।’
देउवाले आफू उपचारका लागि विदेशमा रहेको जानकारीसमेत दिएका छन् । ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’
नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको पनि उनले बताएका छन् ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शितासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि सिंगो जीवन संघर्षमै व्यतीत गरेको स्मरण गरेका छन् ।
उनले लेखेका छन्, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।’ यो खबर मध्यान्हबाट लिएका हौ ।