मधेशमा बढ्दो राजनीतिक किचलो : प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्न युवाको माग

hitkhabar.com


जनकपुर । मधेश प्रदेशमा बढ्दो राजनीतिक तनाब बीच जनकपुरधामका युवाहरुको एक समूहले प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

स्वतन्त्र युवा समाजका प्रतिनिधिहरुले आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ समक्ष मधेश प्रदेश लामो समयदेखि राजनीतिक किचलोको सिकार भएको भन्दै तत्कालीन निकासका लागि कदम चाल्न आग्रह गरेका हुन्। उनीहरुले बुझाएको पत्र प्रदेश प्रमुखमार्फत राष्ट्रपति कार्यालयमा पेश गरिदिन समेत अनुरोध गरिएको छ।

युवाहरुले प्रदेशसभाभित्रको निरन्तर लुछाचुडी र अस्थिरताका कारण मन्त्रालयदेखि विभिन्न सरकारी कार्यालयहरु पूर्ण रूपमा अस्तव्यस्त भइसकेको, जसले प्रदेशको प्रशासनिक संयन्त्रसँगै राष्ट्रियता र सार्वभौमसत्तामा समेत असर परेको उल्लेख गरेका छन्।

ज्ञापनपत्रमा नेपालको संविधानको धारा २३२(३) अनुसार प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई कम्तीमा ६ महिनाका लागि निलम्बन वा विघटन गरी, स्वतन्त्र नागरिक स्तरको सरकार गठन गर्न माग गरिएको छ। उनीहरुको भनाइमा यस्तो कदमले मधेश प्रदेशमा सुशासन, स्थिरता र संघीयताको प्रभावकारी संस्थागतकरण गर्न सहयोेग पुर्‍याउनेछ।

स्वतन्त्र युवा समाजले प्रदेशको वर्तमान राजनीति “जनतामुखीभन्दा पद–मोहमा अधिक केन्द्रित” भएको आरोप लगाउँदै यथाशीघ्र सुधारका कठोर कदम चाल्न प्रदेश प्रमुखलाई आग्रह गरेका छन्।


प्रतिक्रिया