काठमाडौं । महानायक राजेश हमालले तितो सत्यलाई स्वीकार्न सक्ने क्षमता विकास गर्न सके जीवन सहज बन्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित ‘अक्टल विज्ञान उत्कृष्ट पुरस्कार’ वितरण कार्यक्रममा बोल्दै हमालले जीवनको वास्तविकता बुझ्नु भनेको केवल सजिलो हुनु नभई त्यससँग जोडिएको तितो पक्षलाई समेत आत्मसात गर्न सक्नु आवश्यक रहेको धारणा राखे ।
उनले भने, “जीवन एउटा युद्ध हो । त्यो युद्ध अन्ततः हार्नकै लागि हो, तर त्यसभित्रका केही मुटभेडमा हामी जित्छौं, जसलाई हामीले सफलता भन्छौं । त्यसैले साना साना सफलतामा रमाउनुपर्छ ।”
हमालले जुनसुकै पेसा वा अवस्था भए पनि जीवनप्रति गम्भीर दृष्टिकोण राख्नुपर्ने बताए । “जीवनको वास्तविकता बुझ्नु सहज हुनु होइन, तितो सत्य स्वीकार गर्नु हो,” उनले थपे, “त्यस्तो तितो सत्य स्वीकार्न सक्ने क्षमता विकास गर्न सके जीवन सहज हुन सक्छ ।”
उनले जीवनमा उर्जा र सकारात्मकता कायम राख्न सके जीवन आफैं सकारात्मक दिशातर्फ जाने धारणा पनि राखे ।