काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई पुनः जसपा नेपालमा फर्किन आह्वान गरेका छन्।
ललितपुरको इमाडोलमा सम्पन्न केन्द्रीय समिति बैठकको अध्यक्षता गर्दै यादवले विभिन्न कारण र समयमा पार्टी छोडेका सबै नेताहरूलाई संकोच, अप्ठ्यारो वा हिचकिचाहट बिना आफ्नो “पुरानै घर” जसपा नेपालमा फर्किन आग्रह गरेका हुन्।
अध्यक्ष यादवले भने, “पार्टी स्थापनाकालदेखि जे जस्ता कारणले असन्तुष्ट भएर पार्टी छाड्नु भयो, उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ। जसपा हामी सबैको साझा संगठन भएकाले फर्किन कसैले दुःख, धक वा संकोच मान्नु पर्दैन।”
बैठकले विगतका दिनमा पार्टी छाडेका नेता–कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्दै आउने सबैको स्वागत गर्ने निर्णय समेत गरेको छ। जसपाले यस अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्ने बताइएको छ।
यादवका अनुसार पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताहरुलाई पुनः सम्पर्कमा आउन अनुरोध गरिएको छ। उनले थपे, “जसले जुनसुकै कारणले पार्टी छाड्नु भयो, उहाँहरूको क्षमता, दक्षता र भूमिकाको मूल्यांकन गर्दै उचित जिम्मेवारी दिइनेछ।”
पार्टीका अनुसार हाल देशको राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै जसपा नेपाललाई थप संगठित, समावेशी र बृहत् बनाउने उद्देश्यका साथ ‘पुरानै घर फर्काउने अभियान’ सुरु गरिएको छ।