भोटेकोशी बाढी: रसुवामा १९ जना बेपत्ता, ठुलो मानवीय तथा भौतिक क्षति

hitkhabar.com



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा गम्भीर मानवीय र भौतिक क्षति भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना नेपाली सर्वसाधारण र ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता रहेको जानकारी दिए ।

उनका अनुसार बेपत्ताहरूको खोजीका लागि नेपाली सेनाबाट ७५ जना, नेपाल प्रहरीबाट ३६८ जना र सशस्त्र प्रहरी बलबाट २३९ जना गरी जम्मा ६८२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्रिशुली नदी किनारमा हालसम्म नाम, थर, वतन नखुलेका २ पुरुषको शव फेला परेको छ । यस्तै, रसुवा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा तीन वटा शवका अङ्गहरू फेला परेका छन् । नुवाकोटको बिदुर नगरपालिका–३ शिरखालीमा दायाँ खुट्टा नभएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

धादिङको चरौंदीस्थित त्रिशुली किनारमा करिब ४०-४५ वर्ष उमेरको पुरुषको शव भेटिएको छ भने भरतपुर–२९ पन्ध्रकिलोस्थित त्रिशुली किनारमा ईलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको हो ।

गृहमन्त्री लेखकले हालसम्म ३० जना नागरिकलाई हवाईमार्फत उद्धार गरिएको जानकारी पनि दिए । नुवाकोटको इन्द्रेणीघाटमा बाढीमा फसेका किस्पाङ–४ का पाल्तेन तामाङ र उनकी श्रीमती मंगली तामाङलाई सुरक्षाकर्मीले हवाईमार्फत सुरक्षित स्थानमा पुर्‍याएका हुन् ।

‘संकटमा फसेका नागरिकलाई उद्धार गर्नु मात्र होइन, सरकारले तपाईहरूसँगै छ भन्ने आशाको सन्देश पनि दिन सफल भयौं,’ मन्त्री लेखकले सदनमा भने ।

त्यस्तै, स्थलगत उद्दारमार्फत रसुवागढी भन्सार यार्डमा फसेका २ प्रहरी र ७ स्थानीय गरी ९ जनालाई उद्धार गरिएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका १ जना चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र २ नेपाली महिला गरी १८ जनालाई पनि सकुशल उद्दार गरिएको उनले जानकारी दिए ।

बाढीका कारण नेपाल–चीन सीमा जोड्ने मितेरी पुल बगाएको छ भने सडक चर्किँदा धुन्चे–टिमुरे खण्डको सडक पूर्ण अवरुद्ध भएको छ ।

गृहमन्त्रीका अनुसार सवारी साधनको आवागमन ठप्प भएको छ । सुख्खा बन्दरगाहमा भन्सार प्रक्रियाका लागि रोकिएका २३ वटा कन्टेनर, ३५ वटा इलेक्ट्रिक गाडी र ६ वटा सनो ट्रक बाढीले बगाएको छ ।

‘त्रिशुली ३ लगायतका जलविद्युत् आयोजना र रसुवागढी हाइड्रोपावर ड्याममा क्षति पुगेको छ । थप क्षतिको विवरण संकलन हुँदैछ,’ मन्त्री लेखकले भने ।

घटनाको जानकारी पाएलगत्तै आफूले सुरक्षाकर्मीहरूलाई तत्काल परिचालनको निर्देशन दिएको उल्लेख गर्दै गृहमन्त्रीले राजधानीबाट समन्वय र सहायतामा आफू निरन्तर क्रियाशील रहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा घटनास्थलको स्थलगत निरीक्षणसमेत गरिएको जानकारी दिए ।

प्रतिक्रिया