काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन उम्मेदवारका लागि मापदण्ड बनाएर प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा परिपत्र गरेको हो ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई कांग्रेसले गरेको परिपत्रमा कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न भनिएको छ । सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार नबनाउने कांग्रेसले मापदण्ड बनाएको प्रचार विभाग प्रमुख मीन विश्कर्माले बताए ।
मापदण्डअनुसार प्रत्येक क्षेत्रबाट तीन जना आकांक्षी उम्मेदवारको नाम मात्रै सिफारिस गर्न तल्लो तहलाई निर्देशन गरेको छ । जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । सो निर्वाचनका लागि पार्टीले उम्मेदवारको मापदण्ड बनाएर जाँदा उम्मेदवार छनोटमा सजिलो पर्ने कांग्रेसले जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले उम्मेदवारको मापदण्ड बनाएरै पार्टीले तल्लो तहको कार्यसमितिलाई परिपत्र गरेको बताए । जसमा पार्टीलाई लेबी नबुझाउनेलाई कुनै पनि तहको उम्मेदवार नबनाउनेसमेत व्यवस्था गरिएको छ । २०७९ को चुनावमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद बनेका तथा बन्दसूचीमा नाम रहेकाहरूलाई पनि कांग्रेसले यसपालि उम्मेदवार नबनाउने भएको छ । ‘२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उम्मेदवार सिफारिस गर्न पाइनेछैन,’ परिपत्रमा उल्लेख छ ।
यस्ता मापदण्ड
जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन् । २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन् ।
प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न पाइनेछैन । तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइनेछैन ।
प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिस गर्नुपर्नेछ । प्रतिनिधि सभा सदस्य पदको उम्मेवारको लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । प्रतिनिधि सभा समानुपातिकतर्फका सिफारिस भएका उम्मेदवारको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुन पार्टी केन्द्रबाट तोकिएको प्रतिबद्धतापत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणापत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनुपर्नेछ ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उम्मेदवार सिफारिस गर्न पाइनेछैन । पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिएबमोजिमको सहयोग रकम (लेबी) तोकिएबमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनुपर्नेछ । सहयोग रकम (लेबी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् । यो खबर मध्यान्हबाट लिएका हौ ।