काठमाडौं । नेपाल र भारतबीचको मुद्रा विनिमय व्यवस्थामा लामो समयपछि महत्वपूर्ण प्रगति भएको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपालमा १०० रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) पुनः चलनचल्तीमा ल्याउन औपचारिक अनुमति दिएपछि दुवै देशका नागरिक तथा आर्थिक गतिविधिमा संलग्न समूहका लागि नयाँ अवसर खुलेको छ । अब भारतको निर्णयलाई नेपाल राष्ट्र बैंकले परिपत्रमार्फत कार्यान्वयन गरेपछि नेपालमा भारु २०० र भारु ५०० का नोट सहज रूपमा सटही र प्रयोग गर्न सकिनेछ ।
आरबीआईको निर्णय, राष्ट्र बैंकको पहल र दुवै देशको सहकार्यपछि अब नेपालमा भारु १०० भन्दा माथिका नोट पुनः चलनचल्तीमा आउने पक्का भएको छ । यसले पर्यटन प्रवर्धन, व्यापारिक सहजता, विद्यार्थी तथा कामदारको आवतजावतमा सजिलो हुनेछ । यसैगरी, सीमापार वित्तीय गतिविधिजस्ता क्षेत्रमा ठोस प्रभाव पार्नेछ ।
अब राष्ट्र बैंकको परिपत्र जारी भएपछि नेपालमा २०० र ५०० भारु दरका भारतीय नोट सहज रूपमा प्रयोग गर्न सकिनेछ, जसले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
७ वर्षपछि ठूला नोट चलाउने बाटो खुला
सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र हजार दरका नोटमा अमौद्रिकीकरण (डिमोनिटाइजेसन) घोषणा गरेपछि नेपालमा रहेका ठूला भारु नोट तत्कालै अवैधझैं बने । त्यसपछि नेपाल राष्ट्र बैंकले जोखिम व्यवस्थापनका कारण भारु १०० भन्दा माथिका नोट सटही नगर्ने निर्देशन जारी ग-यो ।
यही कारण नेपालको वित्तीय प्रणालीमा करिब ४ करोड भारु अझै सटही नभएको अवस्थामा थियो ।
अब आरबीआईले जारी गरेको नयाँ व्यवस्थाले नेपालमै ठूला दरका नोट चलाउने बाटो पुनः खोलेको हो । भारतले नेपालसँगै भुटानका लागि पनि यही सुविधा लागू गरेको छ ।
कति नोट ल्याउन–ल्याउन पाइने ?
भारतले अब व्यक्तिले २५ हजार भारुसम्म दुवै दिशाबाट (भारतबाट नेपाल र नेपालबाट भारत) लैजान–ल्याउन सक्ने व्यवस्था प्रदान गरेको छ ।
पहिले भारतबाट २५ हजार ल्याउन पाइन्थ्यो, तर नेपालबाट भारत लैजान पाइँदैनथ्यो । अब भने दुवैतर्फ सीमा बराबरी रूपमा लागू हुने भएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार यो व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले परिपत्र प्रकाशित गर्ने तयारीमा छ । उनी भन्छन्, ‘यस व्यवस्थाले भारतबाट नेपाल आउने पर्यटक, यहाँका व्यापार गतिविधि तथा भारतमा अध्ययन वा रोजगारका लागि जाने नेपालीलाई ठूलो सुविधा दिनेछ ।’
२०० र ५०० दरका नोट नेपालमै सटही हुने
हाल भारतमा १००, २००, ५०० र २००० दरका नोट चलनचल्तीमा छन् । यद्यपि, भारतले सन् २०२३ देखि २००० दरका नयाँ नोट छाप्न छाडेको छ । त्यसैले नेपालमा सटहीका लागि मुख्य रूपमा २०० र ५०० दरका नोट चल्ने अपेक्षा गरिएको छ ।
अघिल्ला वर्षहरूमा भारतले १०० दरभन्दा माथिका नोट नेपालमा प्रतिबन्धित राख्ने तर्क सुरक्षा र तस्करी नियन्त्रणसँग जोडिएको थियो । तर, सीमा क्षेत्रमा डिजिटल प्रणाली र दुवै मुलुकबीच द्रुत समन्वय बढेपछि अब ठूला नोटको चलनले समस्या नआउला भन्ने आँकलन गर्दै प्रतिबन्ध हटाइएको हो ।
भारतीय पक्षसँग नेपालले उठाउँदै आएको माग
गत १७ कात्तिकमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीचको साझा समन्वय संयन्त्र ९जेटीसीसी०को नवौं बैठकमा गभर्नर डा। विश्वनाथ पौडेलले ठूला नोटको मुद्दा कडाइका साथ उठाएका थिए । उनका अनुसार भारतबाट नेपाल पैसा ल्याउन पाइने तर त्यही नोट नेपालबाट भारत लैजान नपाउने व्यवस्था अव्यावहारिक थियो ।
आरबीआईका कार्यकारी निर्देशक अर्णबकुमार चौधरीले सो बैठकमा नेपालको प्रस्तावलाई सकारात्मक रूपमा लिएका थिए र एक महिनाभित्रै भारत सरकारले सीमा तोकेर नोट चलनचल्ती गर्ने औपचारिक निर्णय ग¥यो ।
नेपालको १२ वर्षदेखि चलिरहेको पहलले अब आएर परिणाम देखाएको गभर्नर पौडेल बताउँछन् ।
अघिल्लो अमौद्रिकीकरणको असर हट्दै
मोदी सरकारले २०१६ मा ५०० र १००० दरका नोट अवैध घोषणा गर्दा नेपालले अत्यधिक मात्रा ठूलो दरका भारु नोट गुमायो । नेपालका बैंक तथा सर्वसाधारणसँग रहेका नोट साट्न नपाइएपछि दुवै देशबीच आर्थिक असन्तुलन र अविश्वास बढेको थियो ।
जेटीसीसीको बैठकमा भारतीय पक्षले असाटिएका पुराना नोट पनि साट्ने प्रक्रिया अघि बढाइने भन्ने आश्वासन दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अब २५ हजार भारुसम्म लैजान–ल्याउन पाउने भएपछि पुराना नोट पनि भारतमा नै फिर्ता गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सीमामा मुद्रा सटही काउन्टर खुल्ने सम्भावना
ठूला दरका भारु नोट सटही सुरु भएपछि नेपाल–भारत सीमा क्षेत्रमा मुद्रा विनिमयका लागि संयुक्त काउन्टर स्थापना गर्नुपर्ने आवश्यकता बढ्ने विशेषज्ञहरूको निष्कर्ष छ ।
यसले पर्यटन, व्यापार, श्रमिक आवागमन तथा विद्यार्थी आवतजावत सजिलो बनाउन मद्दत गर्नेछ । राष्ट्र बैंकका अनुसार यस’दयगत दुवै देशबीच प्राविधिक छलफल भइरहेको छ ।
तस्करीको जोखिम—नियमन कडा हुनेछ
ठूला नोट प्रायः तस्करी तथा अवैध कारोबारमा प्रयोग हुने भन्दै भारतले प्रतिबन्ध लगाएको थियो । अब प्रतिबन्ध हटे पनि २५ हजार रुपैयाँभन्दा बढी नोट ल्याएमा बाँकी रकम जफत हुनसक्ने चेतावनी दुवै देशले जारी गर्ने तयारी गरिरहेका छन् ।
नेपालले भारतीय मुद्रा अन्य मुलुक लैजान कडाइका साथ रोकेको व्यवस्था भने यथावत राख्नेछ । यो खबर राजधानीबाट लिएका हौ ।