डा.शंशाक र रानाभाटसहित हिन्दूराष्ट्रका पक्षमा ६ सय कांग्रेस नेताको हस्ताक्षर

Sharing is caring!

फागुन ८, २०८० । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानमा ६ सयबढी प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । महासमिति वैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको अभियन्ता लोकेश ढकालले जानकारी दिए ।

मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा.सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन् । मंगलबार विहानसम्म ६ सय बढी महासमिति सदस्यहरूले वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेको ढकालले जानकारी दिए । त्यसमा ३५ बढी केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरुले व्यक्तिगत धारणा राख्ने जनाएका छन् । तर कांग्रेसको इतर समूहका केही नेता, मुस्लिम संघ, आदिवासी जनजाती संघलगायत केही भातृ एवम शुभेच्छुक संस्थाहरु उक्त अभियानको विरुद्धमा उभिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्र्तगत हस्ताक्षर संकलन गरिएको हो । अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरु सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाए ।

गौतम बुद्ध जस्ता महान व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ ।

महासमिति वैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले वैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *