नेकपा स्थापनाको ७५ वर्ष पूरा, एमालेले हिरक जयन्ती मनाउँदै

Sharing is caring!

वैशाख १०, २०८१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । पार्टी स्थापना भएको दिनलाई नेकपा (एमाले)ले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाउँदैछ ।

तत्कालीन जहाँनीया राणा शासनको विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपाको स्थापना भएको थियो ।

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई २००६ साल वैशाख १० गते आफ्नै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना गरेका थिए ।

समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी पटक पटक विभाजन र एकताको श्रृंखलाबाट गुज्रिदै आएका छन् ।

सबैभन्दा ठूलो कम्युनिष्ट दल नेकपा एमालेले सोमबार ७५ औँ स्थापना दिवसलाई हिरक जयन्तीकारुपमा मनाउँदैछ । सो अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरवबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हिरक जयन्तीका अवसरमा देशभरि पार्टीका विभिन्न तहका कमिटीहरूले सिर्जनात्मक कार्यहरू समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *