राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री दाहाल

Sharing is caring!

कात्तिक २१, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी तिव्रता दिने बताएका छन् ।

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा उनले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै सरकारले क्रिकेट रंगशाला निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए ।

उनले भने, “क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ। क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं।” उनले क्रिकेटप्रति नेपाली जनता र युवामा देखिएको क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको भन्दै खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न अगाडि बढ्ने बताए ।

उनले भने, “क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ। यो टीम नेपालको बेस्ट टीम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ, यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो ।” उनले घोषणा गरेको पुरस्कार बितरणमा अलि ढिलो भएकोमा नमीठो लागेको भन्दै आगामी दिनमा त्यस्तो नहोस् भन्नेको लागि सरकारले सचेतता अपनाउने बताए ।

उनले भने, “हामीले घोषणा गरेको पुरस्कार बितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमीठो लागेको छ । हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन्। त्यसले पनि ढिलो हुन गयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ। टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै बितरण गरिनेछ।”

कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको बताए । उनले भने, “यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं। कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ। सरकारको पहलप्रति आभारी छौं। बाँकी रहेका कामहरु पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *