प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको माओवादी केन्द्रको निष्कर्ष

Sharing is caring!

असोज १४, २०८० । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विदेश भ्रमण सफल भएको निष्र्कष निकालेको छ ।
सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समग्रमा हेर्दा प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् ।

अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलताको प्रभाव पर्न नदिने कुरामा चीन र नेपालकाबीच सहमती भएको भन्दै उनले प्रधानमन्त्रीको भ्रमण सफल भएको जिकिर गरे ।

उनले भने, ‘चीन भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ । अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलता पेचिलोपनको यो अवस्थामा दुई देशका नेताहरु यसको प्रभाव पर्न नदिने कुरामा सहमत हुनुभएको छ । र पहिला नै राखेका कुराहरुमा पुनः प्रतिबद्धता पनि व्यक्त गरिएको छ । त्यस अर्थमा यो भ्रमण सफल भएको छ । समग्रमा हेर्दा यो भ्रमणले नेपालको पछिल्लो गतिविधिहरु नेपालले गर्दै गरेको कामहरुको बारेमा जानकारी गराउँदै यो भ्रमण सफल भएको देखिन्छ ।’

उनले भ्रमणमा चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगकाबीचमा सम्झौता हुनु देश विकासमा नयाँ आयामको सुरुवात हुनु भएको बताए ।

उनले भने, ‘अहिलेको भ्रमण आर्थिक विकास, दुई देशका विकासका आधारमा तय भएको छ । कामकाजी खालका सहमती र सम्झौता भएका छन् । डिजिटल अर्थतन्त्रमा सहयोग गर्ने कुरा भएको छ, त्यसैगरि राष्ट्रिय सुरक्षाका कुराहरु, विज्ञान तथा प्रविधिका कुरा सबै कुरामा सहकार्य गर्ने कुरा छ । जलवायु परिवर्तनका सन्दर्भमा नेपालको वनमन्त्रालय र चीनको वन मन्त्रालयका बीचमा पनि सहकार्य गर्ने सहमति भएको छ । विज्ञान र प्रविधिको कुरामा पनि उहाँहरुसँग भएको विज्ञान र प्रविधि नेपाललाई दिने कुरा गर्नु भएको छ ।’

यसको साथै, संयुक्त राष्ट्र संघको महासभामा शान्ति प्रक्रिया र जलवायु परिवर्तनबाट नेपाल जस्तो देशलाई परेको प्रभावबारे ध्यानाकर्षण गराएको भन्दै उनले प्रधानमन्त्रीको प्रशंसा गरे ।
उनले भने, ‘यसको साथै संयुक्त राष्ट्र संघको महासभाको कुरा गर्दा प्रधानमन्त्रीले त्यहाँ सबैभन्दा महत्वपूर्ण कुरा शान्ति प्रक्रियाको बारेमा राख्नु भएको छ । महासभाका संसारको ध्यानाकर्षण गर्ने गरी यसको महत्व, यसलाई स्थापित गनुपर्ने कुरा, विश्व समुदायबाट प्राप्त हुनुपर्ने सहयोगको बारेमा कुराहरु राख्नु भयो । जलवायु परिवर्तनमा जुन स्तरबाट शक्ति राष्ट्रहरुको सहमति भएको थियो । त्यसमा पनि अझै ध्यान पुगेको छैन् भनेर पनि कुरा उठाउँनु भएको छ । यस अर्थमा अमेरिकाको भ्रमण पनि सफल भएको छ ।’

उनले देश विकास गर्नको लागि राष्ट्रिय रुपमा एकरुपता कायम गर्न आवश्यक भएको भन्दै राष्ट्रिय दृष्टिकोण कायम भएपछि मात्रै सम्बन्धहरु राम्रो हुने बताए ।
उनले भने, ‘हामीले राष्ट्रिय रुपमा एक रुपता कायम गर्नुपर्छ, पार्टीहरुका बीचमा त्यो अनिवार्य छ । किनभने यो भएपछि, आत्मनिर्भर भएपछि मात्रै हाम्रो राष्ट्रिय सवालमा, राष्ट्रिय दृष्टिकोण कायम भएपछि मात्रै अरुसँग हाम्रो सम्बन्ध राम्रो हुन्छ र सहयोग लिन पनि पाइन्छ ।’

उनले राजनीतिक परिवर्तनहरु भएपनि जनताको जीवन परिवर्तन नभएको भन्दै जनताको जीवन परिवर्तन गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गम्भीरतापूर्वक लागेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *